Logo

नियामक निकायका उच्च पदस्थहरूको चिन्तनले पूँजीबजारमा अस्वाभाविक हलचल भइरहेको छ – अम्बिकाप्रसाद पौडेल [अन्तर्वार्ता]



विगत केही दिनदेखि निरन्तर ओरालो लागेको नेपाली सेयर बजारलाई लिएर विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । बुधवार भने केही सुधार देखिएको थियो तर सेयरबजार पुनः ओरालो लाग्ने आशंका लगानीकर्तामा व्याप्त छ ।

यही साताको तीन दिनमै नेप्से सूचक करिब २ सय अंकले घटिसकेको अवस्था थियो । सेयर धितो कर्जाबारे राष्ट्र बैंकको नीतिका कारण आत्तिएका लगानीकर्ताहरू बजारमा तरलता अभाव हुन थालेपछि ब्याजदर बढ्ने त्रासमा छन् । पूँजीबजारलाई प्राकृतिक रूपमा उतारचढाव हुन दिनुपर्ने मान्यता राख्ने सेयर विश्लेषक अम्बिकाप्रसाद पौडेल यो अवस्थालाई स्वाभाविक मान्छन् ।

तर नियामक निकायले बनाउने खराब नीतिका कारण पूँजीबजारमा अस्वाभाविक गतिविधि देखिन सक्ने अवस्था राम्रो नभएको उनको विश्लेषण छ । ‘पछिल्लो समयमा पूँजीबजारमा जुन रूपले एकदमै डरलाग्दो उतारचढाव खास गरेर ओरालो गतिमा जुन लागेको छ, त्यसको प्रमुख कारण चाहिँ हाम्रा नियामक निकायको पूँजीबजारलाई हेर्ने दृष्टिकोण हो,’ सूत्रन्यूजसँगको अन्तर्वार्तामा पौडेलले भने, ‘नियामक निकायले एकपछि अर्को पूँजीबजार अमैत्री नीतिहरू ल्याउनु र पूँजीबजारलाई आफैंले मूल्यांकन गर्ने हो भन्ने उहाँहरूको चिन्तन अहिले समस्या बनिरहेको छ ।’

प्रस्तुत छ पौडेलसँग सूत्रन्यूजका प्रबन्ध सम्पादक ईश्वर अर्यालले गरेको कुराकानीको सम्पादित अंश –

आम जनताले बुझ्ने भाषामा भनिदिनुस् त सेयर मार्केट अथवा पूँजीबजार भनेको के हो ?

सामान्य अर्थमा बुझ्दा पूँजीबजार पूँजी संकलन गर्ने आधार हो । व्यवसायीले आफ्नो लगानीलाई तरलता प्रदान गर्ने एउटा क्षेत्र हो । बिजनेस व्यवसाय स्थापना गरिसकेपछि कहिले पूँजी अपुग हुन्छ, सर्वसाधारण जनताबाट लिनुपर्ने हुन्छ । कहिले आफ्नो पूँजीको भ्यालू मापन गर्नुपर्छ । त्यसका लागि पनि पूँजीबजारमा आफूलाई सूचीकृत गर्ने चलन हुन्छ ।

सामान्यतयाः पूँजीबजारमा शेयर हुन्छ, डिभेन्चर हुन्छ, आइपीओ हुन्छ, यस्ता विभिन्न किसिमका इन्स्ट्रुमेन्ट हुन्छन् । समग्र रूपमा पूँजी संकलन गर्ने एउटा माध्यम र व्यवसायीका लागि आफ्नो भ्यालू सिर्जना गर्ने बजारलाई पूँजीबजार भनिन्छ ।

हिजो आजको सन्दर्भमा पूँजीबजारको स्थिति के हो ? बजारमा नकारात्मक टिप्पणी धेरै आउन थालेका छन्, किन ?

मैले हेर्दा पूँजीबजार विगत करीब करीब १७ महिनादेखि एउटा गतिमा गइरहेको थियो । पूँजीबजार घट्ने, बढ्ने यी प्राकृतिक कुराहरू हुन् । भइरहन्छ । पछिल्लो समयमा पूँजीबजारमा जुन रूपले एकदमै डरलाग्दो उतारचढाव खास गरेर ओरालो गतिमा जुन लागेको छ, त्यसको प्रमुख कारण चाहिँ हाम्रा नियामक निकायको पूँजीबजारलाई हेर्ने दृष्टिकोण हो । नियामक निकायले एकपछि अर्को पूँजीबजार अमैत्री नीतिहरू ल्याउनु र पूँजीबजारलाई आफैंले मूल्यांकन गर्ने हो भन्ने उहाँहरूको चिन्तन अहिले समस्या बनिरहेको छ ।

नियामक निकायले पूँजीबजार मेरो नियन्त्रणमा हुनुपर्छ र मैले तोकेको प्राइस हुनुपर्छ भन्ने चिन्तन छ, त्यही चिन्तन अहिलेको समस्याको कारक हो जस्तो मलाई लाग्छ ।

मतलब, अहिलेको अवस्था राम्रो छैन ?

पूँजीबजार घट्नु र बढ्नु एकदमै प्राकृतिक हो । दिनपछि रात आउँछ, बर्षापछि हिउँद आउँछ यी सबै प्राकृतिक कुरा हुन् । तर कृत्रिम बहाव सिर्जना गरियो, दिउँसै रात पार्न खोजियो भने त राम्रो होइन त ।

पूँजीबजारमा मेलम्चीकै जस्तो बाढी आयो भने त सरकारले राहत उद्दार गर्नुपर्ला नि त ?

पूँजीबजारमा मेलम्चीको जस्तो बाढी आयो भने आफैं नियन्त्रण हुन्छ । एउटा भन्ने गरिन्छ, बेलुन फुकेझैं भयो भनेर । आखिर बेलुन कति फुक्न सकिन्छ ? बेलुनले निश्चित सीमासम्म मात्र थेग्छ होला नि त । मूल्य कति हुनुपर्छ भन्ने कुरा चाहिँ नियामकको सरोकारको विषय होइन ।

पूँजीबजारमा कसैले म्यानुपुलेसन गर्यो, कानूनको परिधिभित्र रहेर काम गरेन, त्यसका निश्चित मूल्य मान्यतालाई मानेनन् भने त्यसमा नियामक निकाय चनाखो हुनुपर्छ । तर स्वतन्त्र रूपले खरिद बिक्री गर्दा कसको मूल्य कहाँ पुग्यो भन्ने विषय चाहिँ उहाँहरूको होइन । दुनियाँभरि खुला बजार अर्थतन्त्र हो, छोडिदिनुपर्छ । सरकारले नाफा आर्जन गरेर ट्याक्स तिरे कि तिरेनन् भन्ने हेर्नुपर्छ ।

राजश्व सिर्जना भएको छ, मूल्य वृद्धि भएको छ, सरकारले प्रशस्त रेभेन्यू पाएको छ र इकोनोमीलाई इनर्जाइज् गरिरहेको सन्दर्भमा पूँजीबजारमाथि कुदृष्टि लगाउनु उचित छैन ।

सरकार चलाउने दल, मन्त्री र अन्य नेताहरूको पृष्ठभूमिले पूँजीबजारलाई पनि असर गर्छ भन्ने गरिन्छ नि ! जस्तै कतिपय उदार अर्थशास्त्रीहरूले कम्युनिस्टको नेतृत्वमा पूँजीबजार खुल्न डराउँछ भन्ने गर्छन्, यस्तो हुन्छ र ?

यसलाई त्यही रूपमा बुझ्नु हुँदैन । यसअघि पनि कम्युनिस्टकै सरकार थियो, पूँजीबजार नयाँ उचाईमा थियो । व्यक्ति, व्यक्तिको चिन्तन, नियामक निकाय र त्यसका उच्च पदाधिकारीहरूको चिन्तन मुख्य कारक हो । म आफैंले यो सरकार र उ सरकार कारक हो भन्दिन । हाम्रा नियामक निकाय र उच्च पदस्थ, जो जो सरोकारवाला छन्, ती चाहिँ कारक हुन् ।

पूँजीबजारले समेटेका क्षेत्रहरू कतिवटा छन्, केके हुन् ?

यसले समेट्ने क्षेत्र १४ वटा छन् । हामीले क्याटागोरीमा यसलाई हेर्न सक्छौं । बैंकिङ, इन्स्युरेन्स, विकास बैंक, फाइनान्स, लघुवित्त, इन्स्युरेन्समा लाइफ, ननलाइफ, उत्पादनमूलक क्षेत्र जसमा टुरिजम जस्ता क्याटागोरीहरू छन् । हाम्रो सन्दर्भमा हेर्दा बैंक, वित्तीय संस्था र बीमा कम्पनीको कारोबार चाहिँ बढी छ ।

यी क्षेत्रमध्ये लगानीकर्ताको सबैभन्दा बढी आकर्षणको क्षेत्र कुन हो ?

यो समय र त्यतिबेलाको परिस्थितिले निर्धारण गर्छ । कुनैबेला बैंकमा बढी आकर्षण देखिन्छ भने पछिल्लो समयमा हाइड्रोमा पनि बढी आकर्षण देखिएको छ । विकास बैंक र फाइनान्समा पनि आकर्षण देखिएको छ । यसमा लगानीकर्ताको मनोविज्ञान कसरि विकसित हुन्छ र त्यसको वेभ कतातिर जान्छ, त्यसले धेरै अर्थमा पूँजीबजारमा लगानी निर्धारण गर्ने हो । ठ्याक्कै हामीले यही क्षेत्रमा आकर्षण बढी छ भन्न मिल्दैन । वर्तमान समयमा सुरक्षित हिसाबले लगानीको क्षेत्र भनेको बैंकिङ नै देखिन्छ ।

एउटा इन्भेस्टमेन्ट मोटिभ हुन्छ भने, अर्को ट्रेडिङ मोटिभ हुन्छ । ट्रेडिङ मोटिभबाट हेर्दा जे जस्तो भए पनि इन्भेस्टमेन्ट मोटिभबाट हेर्दा बैंकिङ सेक्टर नै बढी सुरक्षित छ ।

सरकारी निकायबाट तपाईंहरूलाई कहाँ कहाँ हस्तक्षेप र असहयोग भएको छ ?

यहाँ क्षेत्रगत हिसाबले नियामक निकायहरू पूँजीबजार नियन्त्रण गर्न सक्रिय भएर लागेको देख्छु । जस्तै विद्युत नियमन आयोग छ । कम्पनी संघसंस्थाले सेयर बिक्री गर्नुअघि १५ दिने सार्वजनिक सूचना निकाल्नुपर्ने प्रावधान दुनियाभरि नभएको प्रावधान हो । हामीले दुनियाँभरिको प्राक्टिसलाई हेर्नुपर्छ । कि पूँजीबजारलाई व्यवसायकै रूपमा मान्न पाउँदैन भनेर भनिदिनुपर्यो ।

रक्सीभट्टी खोल्नका लागि लोन पाइने, पूँजीबजारमा लगानी गर्छु भन्दा नपाइने हुन्छ ? जस्तै कुनै संघ संस्थाले आफूलाई पूँजी चाहिन्छ कि चाहिँदैन, उसैले निर्णय गर्छ । कसैले हकप्रद सेयर दिन्छु, कसैले एफपीओ निकाल्छु भन्ला, त्यसमा पनि नियन्त्रण गर्छु भनेर नियामक निकाय नलाग्दिए हुन्थ्यो ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जा भनेको दोस्रो बजारमा सूचीकृत भएका कम्पनीहरूलाई धितोमा राखेर लिने कर्जा हो । यो कर्जा कसरी दिने, कति दिने भनेर स्पष्टसँग नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकामा उल्लेख गरिएको छ । त्यति सर्लक्क बनाइएको छ । त्यो हामीले एसेप्ट गरेका छौं, मार्केट फ्रेन्ड्ली नै छ ।

तर त्यसमा पनि एकल व्यक्ति सीमा तोकियो । यसले गर्दा कसैले व्यवसायकै रूपमा सेयरमा लगानी गर्छु भन्न अलि गाह्रो स्थिति पैदा भएको छ । कि त यो व्यवसाय नै होइन भनिदिनुपर्यो ।

तपाईंले अघि नियामक निकायलाई दोष दिनुभयो, तर पूँजीबजारका पनि त आफ्नै कमजोरीहरू छन् । समूह खडा गरेर सेयर खरिदबिक्रीमा सिन्डिकेट खडा गरिरहेको आरोप त लगानीकर्तामाथि लागिरहेको छ नि हैन र ?

दुनियाँभरि कुनै पनि बजारमा कमजोरी नै छैन भन्ने होइन, त्यसलाई कम गर्दै लैजानुपर्छ । अहिले हाम्रो बजार हेर्ने हो भने जुन हिसाबले प्रविधिको प्रयोग गर्नुपर्थ्यो, त्यो गर्न सकिएको छैन । अहिले पनि हामीसँग जुन पद्धतिले पूँजीबजारमा सेयरको मूल्यांकन र निष्कासन गरेका छौं त्यसमा पनि ल्याप्सेस छन् । लगानीकर्तालाई जुन किसिमले हाम्रा नियामकले सचेतना दिनुपर्ने हो त्यो किसिमले पूँजीबजारको बारेमा जानकारी दिन सकिएको छैन । ल्याप्सेस छन्, त्यसलाई कम गर्दै जानुपर्छ ।

स्वभावैले सबैले शतप्रतिशत गंगाजल जस्तै पवित्र हुन्छन् भन्ने छैन । समूह खडा गरिएको हुन सक्छ, त्यही कारणले त नियमन गर्नुपर्छ भनेको नि ! मान्छे त एकै प्रकृतिले हुर्कन्छ तर कोही असल बन्छ कोही खराब बन्छ । कसैलाई जेल राख्नुपर्छ, कसैलाई सम्मान गरिन्छ ।

पूँजीबजारमा पनि हुन्छ त्यस्तो, त्यसैका लागि सर्भिलियन्स मजबूत बनाउ, नियमन गर भनिएको हो नि ! कोही खराब छ भन्दैमा असललाई पनि छिर्न नदिने त ? सबै खराब छ भनेर पोलिसी बनाउने कि खराबलाई नियन्त्रण गर्नका लागि मेकानिज्म बनाउने भन्ने हाम्रो कन्सर्न हो ।

 

अम्बिकाप्रसाद पौडेल पूँजीबजार सेयर

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ०९:१२

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल