‘चित्रा २’को तयारीमा हुन् सन्तोष अधिकारी ?-Sutra News

‘चित्रा २’को तयारीमा हुन् सन्तोष अधिकारी ?

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । गत वर्षको पुस २७ गते प्रदर्शनमा आएको फिल्म ‘चित्रा’ यतिबेला अन्तर्राष्ट्रिय रुपमा प्रदर्शन भइरहेको छ । नेपालमा प्रदर्शन हुँदा बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेको यस फिल्मले विदेशमा सुखद व्यापार गरिरहेको छ ।



फिल्मका निर्माता तथा कलाकार सन्तोष अधिकारीले ‘चित्रा’लाई अष्ट्रेलिया र क्यानडामा प्रदर्शन गराइहेका छन् भने, युरोपका शहर र अमेरिकामा पनि प्रदर्शन गर्ने तयारी गरेका छन् । साथै, ‘चित्रा २’ बनाउने तयारी भइरहेको समेत बुझिएको छ ।

प्रदर्शनकै बेला फिल्मलाई जुन शैलीमा टुङ्ग्याइएको थियो, त्यसमा समावेश एक संवादमा अभिनेता अधिकारीले सशङ्कित हुँदै ‘चित्रा’ भन्दै बोलेको थिए, त्यसले पनि फिल्मको सिक्वल बन्ने कुरालाई बल पुर्‍याएको थियो भने सिक्वेलका लागि कथा बाँकी राख्दै फिल्मको अन्त्यमा ‘चित्रा २’ भनेर समेत उल्लेख गरिएको थियो ।

‘चित्रा २’ बनाउने घोषणा गरेसँगै अधिकारीले दोस्रो भागलाई क्यानडामा छायांकन गर्ने तयारी गरिरहेका छन् । हालै क्यानडामा ‘चित्रा’ प्रदर्शन गर्न पुगेका उनले ‘चित्रा २’ को छायांकनका लागि विभिन्न स्थानको अवलोकन गरेको समेत देख्न सकिन्छ । दोस्रो भाग क्यानडामामै छायांकन हुन्छ भन्ने आधार उनले सामाजिक सञ्जालमा हालेका तस्विरबाट पनि पुष्टि हुन्छ ।

विदेशमा प्रदर्शन हुँदा सुखद व्यापार गरिरहेको फिल्मको यस अघि तास्मानियामा भएको रेडकार्पेट प्रिमियर गरिएको थियो । त्यहाँ होबार्ट सिटीकी मेयर एल्डरम्यान लुइस ब्लूमफिल्ड र नेपाली समुदायका विभिन्न संघ सस्थाका पदाधिकारी तथा सामाजिक अगुवाहरूले ‘चित्रा’ हेरेका थिए। पारिवारिक विषयमा बनेको फिल्मले प्रिमियरमा प्रशंसा बटुलेको थियो।

घनश्याम लामिछानेको निर्देशनमा बनेको यो फिल्मले बाबु-छोरीको कथा भन्छ । फिल्मको मुख्य पात्रमा अधिकारी आफै छन् । उनले  यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।  नेपालमा आयोजना गरिएको प्रिमियरमा पुगेका थुप्रै फिल्मकर्मीहरुले फिल्मको कथाले मन छोएको बताउँदै डेब्यू अभिनेता सन्तोष अधिकारी, अभिनेता प्रमोद अग्रहरी, सिम्रन खड्का तथा बाल कलाकार आयुशी खड्काको कामको तारिफ गरेका थिए।  पहिलो फिल्ममा सन्तोष अधिकारीले गरेको मिहिनेतलाई धेरैले धाप मारेका छन् ।

फिल्ममा सन्तोष, प्रमोद र सिम्रनका अलावा शुभेच्छा खड्का, अर्पण थापा, मेनुका प्रधान, प्रकाश घिमिरे, अञ्जना बराइली, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ।

महेश पौडेलको छायांकन रहेको फिल्ममा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ।

फिल्मका निर्माता आशिष थापा मगर हुन् भने एसोसिएट निर्मातामा राज श्रेष्ठ रहेका छन्। फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट