

काठमाडौं । ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो ललितपुर महानगर ४ स्थित नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको बसले प्रदेश १-०२-०५१ प ३८५० नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार बसको ठक्करबाट राइड शेयरिङका स्कुटर चालक महालक्ष्मी नगरपालिका ९ लामाटार बस्ने ४५ वर्षीय भोपाल अधिकारी र भक्तपुर बोडे बस्ने ४६ वर्षीया सविता थापा घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि अल्का अस्पताल लगिएकोमा उपचारको क्रममा सविताको मृत्यु भएको हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।