रवि सहमत भएपछि छानबिन समिति बनाउन सत्तापक्ष तयार-Sutra News

रवि सहमत भएपछि छानबिन समिति बनाउन सत्तापक्ष तयार

बिहिबार, ३ जेष्ठ २०८१

बिहिबार, ३ जेष्ठ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन सत्ता पक्ष तयार भएको छ । यद्यपि, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिनुपर्ने प्रस्ताव सत्ता पक्षले राखेको छ ।



कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छानबिन समिति बनाउन सरकार तयार रहेको तर, सदनमा गृहमन्त्री लामिछानेलाई बोल्न दिन आग्रह गर्दै सन्देश पठाएका छन् । “गृहमन्त्रीजीलाई बोल्न दिनुस् संसदीय छानबिन समिति गठन गर्न तयार छौं भन्ने सन्देश प्रधानमन्त्रीले पठाउनु भएको छ”, लेखकले भनेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताएअनुसार रोष्ट्रमबाट स्पष्टीकरण दिने वातावरण बनेमा अर्को विकल्पमा जान सकिने कुरा गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसँगको भेटमा राखेका थिए । “ममाथि उठेका प्रश्नबारे बोल्ने वातावरण बनाउनुस्, त्यसपछिका विषयमा म तयार छु”, बिहीबार बिहान बालुवाटारमा भएको भेटमा गृहमन्त्रीले प्रधानमन्त्रीसँग भएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने ।

जसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सदनमा प्रश्न उठेपछि सदनबाटै स्पष्टीकरण दिन पाउनुपर्ने कुरा राखेको ती सदस्यले बताए ।

रास्वपाका सह–प्रवक्ता मनिष झालेले पनि सहकारी प्रकरणमा छानबिन समिति बनाउन पार्टी तयार रहेको बताएका छन् । यद्यपि, व्यक्ति केन्द्रित छानबिन समिति गठन हुन नसक्ने अडान रास्वपाको रहेको उनले सुनाए । तर, समिति गठन पूर्व गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने उनले बताए ।

“व्यक्ति केन्द्रित छानबिन गर्ने भन्ने हुन्न, समग्र सहकारीको विषयमा छानबिन हुनसक्छ, छानबिन समिति बनाउन सकिन्छ”, झाले भनेका छन्, “जसमा हाम्रो पार्टी सभापतिले खुलारूपमा सहयोग गर्छु भन्नुभएको छ, यद्यपि हाम्रो सभापतिमाथि प्रश्न उठाउँदै गर्दा सदनमा बोल्ने वातावरण बनाइदिनुपर्छ, हामीमाथि उठेका प्रश्नमा जवाफ दिन पाउनुपर्छ ।”

छानबिन समिति बन्दै गर्दा गृहमन्त्रीकै पदमा रहने वा नरहने भन्ने कोणबाट निष्कर्ष निकाली नसकिएको झाले बताए । यद्यपि, विभिन्न विकल्पबारे पार्टीभित्र छलफल भएको उनले बताए ।

“यही भनेर निष्कर्ष निकालेको छैनौ, विभिन्न विकल्पमाथि छलफल भइरहेको छ”, झाले भनेका छन् ।

विगत दुई महिनादेखि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । सदनमा समिति गठनको माग गर्दै कांग्रेसले अवरोध पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट