

काठमाडौं । पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’ को पहिलो गीत सार्वजनिक भएको छ ।
असारको ७ गतेबाट रिलिजमा आउन लागेको फिल्मको शुक्रबार ‘मायाको खानी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।
निर्माण पक्षले सार्वजनिक गरेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नायिका पूजासँगै नव-नायक कुन्साङ बोमजो देखिएका छन् । यसै फिल्मबाट कुन्साङले ठूलो पर्दामा डेब्यु गर्दैछन् ।
यो गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत, प्रदिप प्रखर पोखरेलको शब्द छ । गीतलाई नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको छ ।
रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा पूजा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् ।
यसअघि यो फिल्म जेठ १० गतेबाट रिलिज हुने भनिएको थियो । जुन मितिमा अर्का दुई फिल्म ‘पुजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि प्रदर्शन मिति सारिएको हो ।
फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह-निर्माताको रुपमा छन् ।
फिल्ममा सन्जोग कुवँर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरि प्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।