सहकारी प्रकरणमा बाँडियो विपक्षी, जनमत फर्कियो सत्ता पक्षतर्फ-Sutra News

सहकारी प्रकरणमा बाँडियो विपक्षी, जनमत फर्कियो सत्ता पक्षतर्फ

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सबैजसो विपक्षी दलहरुलाई सहकारी प्रकरणमा एकजुट बनाउने प्रयास ग¥यो । बिहीबारको घटनापछि कांग्रेसले शुक्रबार बिहानदेखि नै विपक्षी दलहरुसँग छलफल बढायो । यद्यपि, कांग्रेसको प्रयासले भने पूर्णता पाउन सकेन ।



कांग्रेसको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी उभिए पनि विपक्षी घटकका जनमतसहित अन्य साना दल उभिएनन् । कांग्रेसको मागप्रति साना दलहरुले आशंका जनाएका छन् ।

जनमतले कांग्रेसको माग अस्वभाविक भएको बताएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने केन्द्रीत कांग्रेसको माग पूरा हुन सम्भव नभएको जनमतको बुझाई छ ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले कांग्रेसले उठाएको मागको पक्षमा उभिन सम्भव नभएको स्पष्ट पारे । “जसरी कांग्रेसले व्यक्ति केन्द्रीत छानबिन समिति बन्नुपर्छ भनेको छ, त्यसमा हाम्रो सहमति छैन, त्यो सम्भव पनि छैन”, सूत्रसँगको कुराकानीमा खानले भने, “समग्र सहकारी क्षेत्रका देखिएका समस्यालाई समग्रतामै हल गर्नुपर्छ, राजनीतिक इगो प्रेरित गरेर मुद्दा हल गर्न सकिन्न ।”

कांग्रेसले छलफलका लागि बोलाएपनि नेमकिपा र राष्ट्रिय जनमोर्चा पनि उपस्थित भएनन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कांग्रेसको माग आवश्यक भएपनि कांग्रेसले नै मागलाई निरन्तरता दिन्छ वा दिँदैन भन्ने यकिन नभएको बताए । कांग्रेसले राजनीतिक लाभ पनि देखिरहेको हुनसक्ने केसीको आशंका छ ।

कांग्रेसले विपक्षी मोर्चालाई सहकारी प्रकरणमा एकताबद्ध बनाउँदै संसदीय गणित पनि आफू अनुकुल बनाउने प्रयत्न गरिरहेको छ । यद्यपि, कांग्रेसको प्रयास सफल हुन सकस बनेको देखिन्छ ।

संसदीय गणितलाई हेर्दा, कांग्रेस ८८, राप्रपा १४, जसपा नेपाल ५ र लोसपा ४ गरी कांग्रेसले बनाउन खोजेको मोर्चामा जम्मा १११ सिट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट