साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने-Sutra News

साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने

आइतबार, ६ जेष्ठ २०८१

आइतबार, ६ जेष्ठ २०८१

काठमाडाैं । चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रहेर फिल्म बन्ने भएको छ। यस फिल्मको शीर्षक पनि अडियो नोभेलको नामबाट ‘अधुरो प्रेम’ नै राखिएको छ। फिल्मको घोषणा गर्दै थिम पोस्टर पनि सार्वजनिक गरिएको छ।



शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले फिल्मको निर्माणको घोषणा गरेका हुन् । प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने यो फिल्मलाई शिशिर खातीले निर्देशन गर्ने भएका छन् । यसअघि प्लानेट थ्री फिल्म्सले फिल्म ‘रङ्गेली’ बनाएको थियो। कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन्।

आफ्नो कथामा फिल्म बन्न लागेकोमा त्यसको जस दर्शकलाई दिँदै साइग्रेसले यो कथा आफ्नो मुटुको सबैभन्दा नजिकको रहेको बताए। उनले भने, ‘यो सम्भव भएको पनि तपाईँकै कारणले हो। म केही छु भने यो तपाईँको प्रेमले हो। यो फिल्म बन्नु लाग्नुको कारण पनि तपाईँ नै हो, मलाई शिशिरले भेटेर तपाईँको अधुरो प्रेम साह्रै नै मन पर्छ, म लैजान चाहन्छु भन्नुभयो। मलाई साह्रै नै डर लाग्यो, त्यो मेरो मुटुको सबैभन्दा नजिकको कथा, बरु अर्को दिन्छु नि भनेँ, उहाँले हुँदैन भन्दै मलाई त्यही कथा चाहिन्छ, मलाई जुन काममा चुनौती हुन्छ त्यही गर्न चाहन्छु भन्नुभयो, मलाई अझै पनि डर थियो, मैले पाँच पटकको भेटपछि मात्र कथा दिएँ, अब तपाईँको प्रेमले सफल हुनेछ।’

पहिलो पटक फिल्म निर्देशन गर्न लागेका शिशिरले आफू साइग्रेसको आवाजको फ्यान मध्ये एक रहेको बताए।

शिशिरले दर्जनौँ म्युजिक भिडियोहरू र फिल्मको गीतमा कोरियोग्राफी गरेका छन्। वि.सं. २०८२ मा रिलिज लक्ष्य राखिएको यस फिल्ममा कलाकार र अन्य टिमको विषयमा भने टुङ्गो लागिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट