‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा ‘गाउँ आएको बाटो’ र ‘द रेड सुटकेस’ स्क्रिनिङ हुने-Sutra News

‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा ‘गाउँ आएको बाटो’ र ‘द रेड सुटकेस’ स्क्रिनिङ हुने

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१

काठमाडौं । असार ६ देखि ९ गतेसम्म ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ । जुन २० देखि २३) हुने फेस्टिभलको ओपनिङ र क्लोजिङ फिल्मको घोषणा समेत गरिएको छ ।



ओपनिङ फिल्मको रुपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को अमेरिका प्रिमियर तय भएको छ भने फिडेल देवकोटा निर्देशित फिल्म ‘द रेड सुटकेस’बाट समापन स्क्रिनिङ हुने भएको छ । सन् २०२३ मा टोरन्टोमा विश्व प्रिमियरसँगै ‘गाउँ आएको बाटो’ले बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध फेस्टिभलमा सहभागिता जनाइसकेको छ ।

‘गाउँ आएको बाटो’ फिल्मले गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा पेश गर्छ । फिल्ममा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ । यस फिल्मलाई आमोद राईले निर्माण गरेका हुन् । नेपाल र डायस्पोरा प्रदर्शन चाहिँ जेठ २५ गते (जुन ७)मा हुँदैछ ।

‘द रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भइसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । यो फिल्म पहिलोपटक अमेरिकामा स्क्रिनिङ हुन लागेको हो । यो फिल्ममा सौगात मल्ल, बिपिन कार्की, सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ । फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गरेको छ ।

फेस्टिभलको पूर्ण लाइन-अप भने चाँडै सार्वजनिक गर्ने तयारी रहेको आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले जानकारी दिए । उनले भने, ‘फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । यसपटकको संस्करणलाई भव्य तुल्याउने हाम्रो तयारी छ ।’

‘गाउँ आएको बाटो’ फिल्मका निर्माता राईले फेस्टिभलको हिस्सा हुन पाउँदा खुसी लागेको बताए । ‘सांस्कृतिक विविधतालाई मनाउने यो राम्रो अवसर हो’ उनले भने ।

‘द रेड सुटकेस’का निर्माता पोखरेलले फिल्मको छनोट हुनु सम्मानको कुरा भएको बताए । नेपाल अमेरिका फिल्म फेस्टिभल अमेरिकाको मेरिल्याण्डमा आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट