फुटेको फुट्यै गर्ने जसपाकाे नियति : सत्ता संघर्षको शिकार कि व्यक्तिगत टकराव ?-Sutra News

फुटेको फुट्यै गर्ने जसपाकाे नियति : सत्ता संघर्षको शिकार कि व्यक्तिगत टकराव ?

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडाैं २०७७ वैशाख १० गते गठन भएको जनता समाजवादी पार्टी (जसपा) नेपालले छोटो समयमै पटक–पटक विभाजनको पीडा झेलेको छ । त्यसो त जसपा नेपालको गठन नै नाटकीय ढंगले भएको थियो । त्यसयता विभाजन र त्यसका कारण केलाउने हो भने पनि यो विचित्र छ । 



तत्कालीन केपी ओली सरकारले ल्याएको अध्यादेशले दल विभाजन हुने डरले तत्कालीन राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई जसपा नेपालको गठन भएको थियो । त्यसको ठिक १६ महिनामा तत्कालीन शेरबहादुर देउवा सरकारले ल्याएको त्यस्तै अध्यादेशमा टेकेर जनता समाजवादी पार्टी, नेपाल विभाजित हुन पुग्यो । तत्कालीन ओली र देउवा सरकारले शक्ति र सत्ताका लागि नै यस्तो अध्यादेश ल्याएका थिए ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव संसद् विघटनपछि ओलीलाई जसरी पनि हटाउने पक्षमा थिए भने महन्थ ठाकुर ओलीलाई बचाउने पक्षमा उभिएका थिए । यी दुइ पक्षबीच तानातान हुँदा अन्ततः महन्थ ठाकुर पक्ष लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन गरी २०७८ सालमा जसपा नेपालबाट अलग भएको थियो ।

जसपा नेपालको विभाजन यतिमै सीमित रहेन । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीचको प्रतिष्ठाको लडाइँले पनि अन्ततः जसपा नेपाललाई विभाजनतर्फै धकेल्यो । वीरगञ्जमा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टी अनुशासन र हित विपरित काम गरेको भन्दै निष्कासन गरेपछि २०७९ असार ३१ गते केही नेता लिएर डा. भट्टराईले जसपा नेपाल विभाजन गरेका थिए । त्यसपछि उनले नेपाल समाजवादी पार्टी गठन गरेका थिए । 

अहिले फेरि जसपा नेपाल नाटकीय ढंगले विभाजन भएको छ । खासगरी नयाँ सत्ता गठबन्धन बनेदेखि नै जसपा नेपालमा विवाद देखिएको थियो । अध्यक्ष यादव वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन इच्छुक नभए पनि पार्टीभित्रको दबावका कारण सहमत भएका थिए । 

पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगै यादवसमेत गठबन्धनको विकल्पको खोजीमा लागेको महसुस भइरहँदा एकाएक जसपा नेपालमा विभाजन आएको छ । अशोक राई नेतृत्वको समूहले पार्टीको नामबाट नेपाल हटाएर जसपा राखेको छ । नयाँ पार्टीका नेताहरूले नयाँ पार्टी स्थायित्वको पक्षमा रहेको भन्दै वर्तमान प्रचण्ड सरकारको निरन्तरताको पक्षमा रहेको स्पष्ट संकेत गरिसकेका छन । 

यसले के स्पष्ट पारेको छ भने जसपा नेपाल फेरि पनि सत्ताको छिनाझम्टीको शिकार भएको छ । विगतमा सत्ताकै कारण विभाजन हुँदै आएको जसपा नेपाल पछिल्लो समय पनि सत्ताकै खिचातानीका कारण विभाजन भएको छ । सत्ताबाहिर रहँदा सडक संघर्षमा एकजुट हुने र सत्ता संघर्षका कारण फुट्ने नियतिले यस पटक जसपामार्फत निरन्तरता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट