सरकार-महानगर टकराव : कतारी राजाकाे आगमनमा ताेडियाे परम्परा-Sutra News

सरकार-महानगर टकराव : कतारी राजाकाे आगमनमा ताेडियाे परम्परा

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडाैं । कतारी अमिरलाई नेपालमा भब्य स्वागत गरियो । स–सम्मान भब्यरुपमै विदाइ पनि गरियो । सरकारले उनकाे आगमनमा सार्वजनिक विदा नै दियो । खातिरदारीमा कुनै कमी गरेको देखिएन । तर, पनि यो भ्रमण एक हिसाबले खल्लो जस्तै भएको छ । एउटा विशेष सम्मान गर्न भने सरकार चुकेको छ ।



नेपाल भ्रमणमा आएका विदेशी राष्ट्र तथा सरकार प्रमुखलाई काठमाडाैं महानगरले चाबी हस्तान्तरण गर्ने परम्परा राख्दै आएको थियो । काठमाडौं नगरकापालिकाका प्रथम मेयर पीएलसिंहदेखि महानगर प्रमुख विद्यासुन्दर शाक्यसम्मले यो परम्परा कायम राख्दै आएका थिए । तर, महानगर प्रमुख बालेन साहले भने त्याे अवसर पाएनन् ।

यो महानगर र बालेनका कारण यस्तो भएको हो या सरकार र सुरक्षा निकायका कारण ?

२०४७ को संविधानको प्रावधानअनुरुप निर्वाचित काठमाडौं नगरपालिकाका प्रथम मेयर पीएल सिंहले नेपाल भ्रमणमा रहेका तत्कालिन चिनियाँ राष्ट्रपतिलाई नगरपालिकाको चाबी बुझाएका थिए ।२०७३ साल कात्तिक १८ गते काठमाडौं महानगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नेपाल भ्रमणमा रहेका तत्कालिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई महानगरको चाबी बझाएका थिए ।

२०७५ वैशाख २९ गते काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर विद्यासुन्दर शाक्यले नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई महानगरको चावी हस्तान्तरण गरेका थिए ।

विदेशी राष्ट्र तथा सरकार प्रमुखको नेपाल भ्रमणका क्रममा महानगरको चाबी हस्तान्तरण गर्ने परम्परा रहँदै आएको छ । तर, यसपटक भने यो परम्परा तोडिएको छ ।

यही वैशाख ११ र १२ गते भएको कतारी अमिरको २ दिने नेपाल भ्रमणका क्रममा महानगरको चाबी हस्तान्तरण गरी सम्मान गर्ने कुनै कार्यक्रम भएन । नेपाल सरकारले यस्तो कार्यक्रम गर्ने प्रस्ताव महानगर प्रमुख बालेनसमक्ष राखेको थियो तर, महानगरले बसन्तपुर हनुमान ढोका क्षेत्रमा कतारी अमिरले पैदलै आएर महानगरको चाबी ग्रहण गर्नुपर्ने अडान राखेपछि यो कार्यक्रम हुन नसकेकाे हाे ।

२०८० असार १९ गते महानगरले जुद्ध शमशेरको शालिक स्थलबाट वसन्तपुर हनुमान ढोकातर्फ सवारी साधन लैजान नपाउने निर्णय गरेपछि त्यहाँ जोसुकैले पैदल हिँडेर मात्र जान सक्ने नियम बनेको छ । यस लगत्तै २०८० असोज ११ गते राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन जद्ध शमशेर शालिकदेखि हिँडेरै जात्रास्थल वसन्तपुरमा पुगेका थिए । राष्ट्र प्रमुख हिँडेरै इन्द्रजात्रामा सहभागी भएको यो पहिलो पटक थियो ।

महानगरको नियम पालना गराउन आफ्ना राष्ट्रपतिलाई हिँडाएका बालेनले कतारी अमिरलाई पनि हिँडाएरै बसन्तपुरमा पुर्याउन चाहेका थिए । तर, सरकारले यो अडानलाई बेवास्ता गर्यो । जसका कारण परम्परादेखि हुँदै आएको कार्यक्रमसमेत रोकियो ।

२०७३ मा तत्कालिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले काठमाडौं महानगरको चाबी बुझ्दै भनेका थिए, ‘काठमाडौँ राजनीतिक थलो मात्र होइन, सभ्यता र संस्कृति र परम्पराको सहर पनि हो ।’

तर, सभ्यता, संस्कृति र परम्परामा समेत बेला–बेला राजनीति हावी हुँदै आएको छ । कतारी अमिरको नेपाल भ्रमणका क्रममा महानगर र सरकारबीचको राजनीतिक टकरावले परम्परा नै बनेको महानगरको चाबी हस्तान्तरणको कार्यक्रम भएन । यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा कस्तो सन्देश देला ? यसमा कमजोरी कसको ? के सम्पदा क्षेत्रमा सवारी साधन नलैजाने नियममा अडान राखेर महानगर र बालेनले कमजोरी गरे ?

के उनले विदेशी राष्ट्रप्रमुखको भ्रमणका क्रममा नेपालको छविका लागि यस्तो अडान छोड्नुपर्थ्याे ? कि पैदल हिँड्दा हुने सुरक्षा चुनौतिको व्यवस्थापनमा सरकार र उसका निकाय चुकेका हुन् ? कि महानगरको नियमको सम्मान गर्दै सुरक्षा व्यवस्था कायम गरी कतारी अमिरलाई पैदल हिँडाएर पनि यो परम्परा कायम गर्नुपर्थ्याे ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट