पत्रकारको सामाजिक तथा भौतिक सुरक्षा हुनु पर्नेमा कानून मन्त्रीको जोड-Sutra News

पत्रकारको सामाजिक तथा भौतिक सुरक्षा हुनु पर्नेमा कानून मन्त्रीको जोड

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले नेपालमा भएका राजनीतिक परिवर्तन र स्वतन्त्रताको पक्ष पोषणमा नेपाली मिडियाको योगदान कम नभएको बताएका छन् ।



डिजिटल मिडिया फाउण्डेशनद्वारा आयोजित ‘डिजिटल डाइनामिक्स अफ प्रेस फ्रिडम’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली राजनीतिक परिवर्तनका समयमा नेपाली मिडियाको योगदान अतुलनिय भएको धारणा राखे ।

‘इतिहासका डर लाग्दा मोडमा पनि नेपालका मिडियाकर्मीले जस्तो आँटका साथ तपाईंहरुले कलम चलाउनु भयो, जसरी बोल्नु भयो, त्यसले यो परिवर्तनसम्म पुर्‍याउनका लागि ठूलो भूमिका खेलेको हो,’ उनले भने, ‘वास्तवमा यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि धेरै मानिसले रगत र पसिना बगाए, धेरै मानिसका कुर्वानीहरु भए, धेरै ठूलो मूल्य चुकाएर हामीले यो परिवर्तन ल्याएका हौँ, यसमा चाँहि मिडिया क्षेत्रको योगदान भन्ने हो भने धेरै ठूलो अतुलनिय योगदान छ ।’

उनले राजनीतिक परिवर्तनको लडाईंमा नेपाली संचार जगत सँगसँगै नआइदिएको भएदेखि यो परिवर्तन हुन कठिन हुने बताए । उनले हिजोको दाँजोमा आज मिडियाको काम झन संवेदनशिल भएर गएकाले यसको महत्व पनि उसै गरी बढेको भनाइ राखे ।

संवेदशिल पेसा भएकाले काम गर्ने पत्रकारहरुको सामाजिक तथा भौतिक सुरक्षा हुनु पर्नेमा उनको जोड थियो । उनले रसिया–युक्रेन युद्ध, हमासप्यालेस्टाइन, इसरायल युद्ध तथा नेपालमा भएका घटनाको उदाहरण दिँदै ती फ्रन्टलाइनमा आफ्नो काम तथा विविध कारणले पत्रकारले ज्यान गुमाएको स्मरण गरे ।

पत्रकारलाई राज्यको सहयोग हुने भन्दै उनले पत्रकारलाई आवाज उठाउन आग्रह गरे । यस क्रममा आफूले कानून मन्त्रीका हैसियतमा गर्नु पर्ने सहयोग गर्न तयार रहेको बताउँदै श्रमजिवी पत्रकार ऐन बने पनि कानून कार्यान्वयन नभएको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट