३५ हजार बुझाउन नसक्दा अस्पतालमै शव बन्धक-Sutra News

३५ हजार बुझाउन नसक्दा अस्पतालमै शव बन्धक

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१

काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक जनाको शव बन्धक भएको छ ।



सिरहाको लहानसँगै जोडिएको सप्तरीको सुरुंगा १ तेदहरी गाउँका करिब २१ वर्षीय युवकको शव ३५ हजार रुपैयाँ बुझाउन नसक्दा बन्धक बनेको हो ।

स्थानीय बिन्देश्वर सदायका जेठा छोरा रोशनकुमार सदाको दुवै मृगौला फेल भई उपचारको क्रममा यही १ गते मृत्यु भएको थियो । तर, उपचारमा खर्च भएकोमध्ये ३५ हजार रुपैयाँ बुझाउन नसक्दा अस्पतालले शव घर लैजान नदिइरहेको आमा सुनिता सदायले बताइन् ।

शव ल्याउन वडाको तर्फबाट एम्बुलेन्सको व्यवस्था गरिदिएको र नगरबाट बाटो खर्चका लागि १० हजार रुपैयाँ नगद उपलब्ध गराएको सुरुंगा १ पिप्रा पश्चिमका वडाध्यक्ष छत्रबहादुर राउत (राजकुमार)ले जानकारी दिए ।

रोशनको शव नआउँदा पछिल्लो पाँच दिनदेखि उनको घरमा चुलो बल्न सकेको छैन ।

अस्पतालका ड्युटीमा रहेका रविन राजवंशीले मृतक सदायको उपचारसँग सम्बन्धित फाइलहरु अध्ययन भइरहेकाले उपचारमा लागेको खर्च, बाँकी रकम र अस्पतालले के गर्न सक्छ भन्ने विषयमा अस्पताल प्रशासनसँग बुझ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट