अभिनेत्री केकीको प्रशंसा गर्दै समीक्षा अधिकारीले पूजा शर्मालाई हानिन् फेरि व्यंग्य-Sutra News

अभिनेत्री केकीको प्रशंसा गर्दै समीक्षा अधिकारीले पूजा शर्मालाई हानिन् फेरि व्यंग्य

बिहिबार, २० बैशाख २०८१

बिहिबार, २० बैशाख २०८१

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा प्रकाश सपुतको सिर्जना र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको ‘बुझिन मैंले’ बोलको गीतले भरिएको छ । यस गीतलाई सामाजिक सञ्जाल जताततै देख्न र सुन्न सकिन्छ । यो गीतले फिल्म ‘बोक्सीको घर’ को प्रचारमा समेत ठूलो राहत दिलाएको छ । विशेषगरी यही गीतका कारण महिला दर्शकहरूलाई हलमा आकर्षित गरेको छ । यो प्रमोशनल गीत सार्वजनिक भएसँगै फिल्मलाई थप ‘वर्ड अफ माउथ’ मिलेको छ ।



यता, यो गीत आएसँगै ठूला ठूला स्टार देखि आम दर्शकहरू गीतमा झुमेको देखिन्छ । यस्तैमा यस गीतकी गायिका समीक्षाको तारिफ गर्नेहरुको पनि कमी छैन । उनको आवाजको पनि त्यस्तै प्रशंसा भइरहेको छ ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । नेपालमा आक्रामक व्यापार गरेपछि यो फिल्मको विदेशमा समेत माग बढिरहेको छ । यसरी ‘बोक्सीको घर’ हेर्न दर्शकहरू दिनप्रतिदिन हल सम्म पुगिरहेको अवस्थामा गायिका अधिकारीले फेसबुकमा स्ट्याटस लेख्दै फिल्मकी अभिनेत्री अधिकारीको तारिफ गरेकी छिन् ।

समीक्षाले ‘बुझिन मैल बुझाइदेऊ कसैले भन्ने गीत गाइसके पछि मैले बुझेँ कि फिल्म चलाउन अभिनय पर्दा बाहिर होइन, फिल्म भित्र गर्नु सक्नु पर्छ’ भन्दै केकी अधिकारी र फिल्मको टिमलाई बधाई दिएकी छन् ।

उनको स्ट्याटस हेर्दा एकातिर केकीको तारिफ गरेको देखिन्छ भने अर्कोतिर नायिका पूजा शर्मालाई संकेत गर्दै सटाएर हानेको देखिन्छ । उसो त उनले पूजा शर्माको नाम तोकेकी छैनन् । तर, केही समय अघि समीक्षा र पूजाको मनमुटाव सामाजिक सञ्जालै भरी छताछुल्ल भएको कुरा पनि ताजै छ ।

समीक्षाले त्यस समयमा नाम उल्लेख नगरी पूजामाथि ‘बहुरूपी औरत’को संज्ञा दिँदै घुमाउरो शैलीमा तीव्र कटाक्ष व्यक्त गरेकी थिइन् ।

समीक्षाले स्ट्याटस मार्फत ‘अस्ति फिल्म चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेऊ । आज फेरि आफ्नो फाइदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ । बहुरूपी औरत ।’ भनेर लेखेकी थिइन् ।

यो भन्नुको पछाडि कुनै समय पल शाहसँग सम्बन्ध राम्रो नभएको बेला आफूसँग जोडिएको र पछि फेरि पलकै चाकडी गरेपछि समीक्षाले पूजालाई निशाना बनाएकी हुन् भन्ने धेरैले अनुमान लगाएका थिए ।

पल शाह जेल पर्दा पूजाले निर्माण गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आएको थियो । त्यही क्रममा पूजाले हल–हलमा पुगेर रुवाबासी गरेकी थिइन् । उनले पलको पक्षमा निकै बयानबाजीहरू पनि गरेकी थिइन् । त्यसबेला पलको बचाउमा पूजाले समीक्षाप्रति लक्षित गर्दै अस्वाभाविक अभिव्यक्तिसमेत दिएकी थिइन् ।

तर, फिल्म चलिसके पश्चात् र पल जेलमुक्त भएपछि भने पूजा उनीसँग चिढिइन् । उनीहरूबीच लामो समय बोलचालसमेत भएन । पलसँग टाढिएपछि उनी समीक्षासँग नजिकिएकी थिइन् । त्यति बेला उनले समीक्षासँग थुप्रै टिकटक भिडियो पनि बनाइन् । त्यसबेला पललाई चिढ्याउन पूजा समीक्षासँग नजिक बनेकी थिइन् ।

अहिले फेरि पल र पूजाको मिलन भएर सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्म ‘रावायण’मा सँगै काम गर्ने गर्दै छन् । नायिका पूजाले नायक पलको तारिफ गर्दै हिँड्दा आशंकाले समीक्षाले उक्त स्ट्याटस लेखेकी हुन् भन्ने धेरैको बुझाई रहेको थियो ।

हुन त, यसरी कहिले काहीँ पूजालाई संकेत गर्दै समीक्षाले स्ट्याटस लेख्ने भएकाले फेरि पनि पूजालाई नै झटारो हानेको अनुमान गर्न सकिन्छ ।

फिल्म चलाउनकै लागि रोएको आरोप खेपिरहेकी पूजालाई नै सोही कुराको हतियार बनाएर समीक्षाले फिल्म चलाउन अभिनय पर्दा बाहिर गर्ने होइन भन्दै सिधै झटारो हानेको यो पछिल्लो स्ट्याटसबाट पनि धेरैले अनुमान लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट