सन्दीपको ‘कमब्याक’ले बढाएको उत्साह-Sutra News

सन्दीपको ‘कमब्याक’ले बढाएको उत्साह

बिहिबार, ३ जेष्ठ २०८१

बिहिबार, ३ जेष्ठ २०८१

काठमाडौं । नेपाली क्रिकेट टोली एक दशकपछि टी २० विश्वकपमा सहभागी हुँदै छ । अमेरिका र वेस्ट इन्डिजमा हुने प्रतियोगिताका लागि नेपाली टोली अहिले अमेरिकामा अभ्यास खेल खेल्दै छ ।



विश्वकप खेल खेल्नुअघि नै राष्ट्रिय क्रिकेट टोलीमा खुसी थपिएको छ । पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेबिना अमेरिका उडेको टोली सन्दीपले फर्किने भएसँगै खुसी थपिएको हो । 

बलात्कारको मुद्दामा विगत चार महिनादेखि नेपाल क्रिकेट संघ (क्यान)को निलम्बनमा परेका लामिछानेले बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । 

सफाइ पाएसँगै क्यान सन्दीपलाई सबै प्रकारको क्रिकेट खेलबाट निलम्बन फुकुवा गरी विश्वकप खेलाउने तयारीमा जुटेको छ । सन्दीप टोलीमा फर्किएसँगै थप बलियो हुनेछ ।

सन्दीप बिना पनि नेपाली टोलीमा विश्व कीर्तिमानधारी खेलाडीका कारण उच्च मनोबल रहेको थियो । विश्वकपमा सहभागी हुने नेपाली टोलीमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने र सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी सहभागी छन् ।

यस्तै, नेपाली टोली आफैमा एक कीर्तिमानधारी टोलीका रुपमा विश्वभर परिचित छ । गत वर्ष चीनमा सम्पन्न एशियाली खेलकुदमा सहभागी भएको नेपालले मंगोलियाविरुद्ध ३१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

नेपालले बनाएको ३१४ रनको लक्ष्य क्रिकेटको टी २० फर्म्याटमा अहिलेसम्मकै सबैभन्दा ठूलो हो । यसअघि यो कीर्तिमान अफगानिस्तानको नाममा थियो । उसले सर्वाधिक २७८ रनको कीर्तिमान बनाएको थियो ।

नेपाली टोलीका कप्तान रोहित पौडेल सबैभन्दा युवा कप्तानको कीर्तिमानी खेलाडी हुन् । एकल प्रदर्शनीमा आफ्नो टोलीलाई खेल जिताउन सक्ने उनी लयमा छन् । उनले बलिङ र ब्याटिङमार्फत विपक्षी टोलीमाथि हाबी हुन सक्ने क्षमता राख्दछ ।  

नेपाली टोलीको कीर्तिमानी खेलाडी कुशल मल्ल र दिपेन्द्र सिंह ऐरी सहभागी छन् । मल्लले जम्मा ३४ बलमा शतक प्रहार गरेका छन् । यसअघि यो कीर्तिमान भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित शर्मासहित डेविड मिलर र सुदेश विक्रम शेखरले ३५ बलमा शतक बनाएका थिए ।

सोही खेलमा दीपेन्द्रले टी २० मा सबैभन्दा कम बलमा अर्धशतक बनाउने कीर्तिमान बनाएका थिए । उनले जम्मा ९ बलमा अर्धशतक बनाए । उनले आठ छक्का र एक चौका प्रहार गरी आफ्नो नाममा कीर्तिमान बनाएका हुन् ।

यसअघि यो कीर्तिमान पनि भारतीय खेलाडी युवराज सिंहको नाममा थियो । उनले १२ बलमा अर्धशतक बनाएका थिए । नेपाली टोलीले चीनको मङ्गोलियामा बनाएको अनेकौँ कीर्तिमानमा सन्दीपले पनि दुई विकेट लिएर साथ दिएका थिए ।

उसो त सन्दीप आफैमा कीर्तिमानी खेलाडी हुन् । उनले सबैभन्दा कम खेल खेलेर एक सय विकेट लिने विश्व कीर्तिमान बनाएका छन् । उनले जम्मा ४२ खेल खेलेर सय विकेट लिएका छन् ।

उनले एसीसी प्रिमियर कपको ओमानविरुद्धको खेलमा अदिल शफिकको विकेट लिँदै उक्त कोशेढुङ्गा पार गरेका थिए ।

विश्वका सर्वाधिक चर्चित क्रिकेट लिग खेलेर आफ्नो क्षमतासँगै विश्व मञ्चमा नेपाललाई चिनाएका सन्दीप गौशाला २६ माथिको बलात्कार मुद्दाबाट सफाइ पाएसँगै पुनः राष्ट्रिय टोलीमा फर्किने भएका छन् । जसका कारण अन्य खेलाडीको मनोबल बढ्ने निश्चित छ भने विपक्षी टोलीमाथि दबाब हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट