सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’मा राखियो, विश्वकप खेल्ने झिनो आशा समाप्त-Sutra News

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’मा राखियो, विश्वकप खेल्ने झिनो आशा समाप्त

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।



गौशाला २६ माथि बलात्कारको अभियोगमा लामिछानेको मुद्दा पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तोकिएको थियो ।

अघिल्लो पेशीमै उच्च अदालत पाटनले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्न आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो । पहिलो नम्बरमा पेशी पर्नका बाबजुद मुद्दा हेर्न नमिल्नेमा परेपछि पहिलोपटक टी २० विश्वकप खेल्ने सन्दीपको झिनो सम्भावनाको अन्त्य भएको छ ।

यसअघि उच्च अदालतमा पहिलो सुनुवाइमा मुख्य न्यायाधीश निरौलाले नै झगडिया झिकाउने आदेश दिएका थिए । आगामी महिना अमेरिका र वेष्ट इण्डिजले संयुक्त रूपमा आयोजना गर्न लागेको टी २० विश्वकपमा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका केही खेलाडी शनिबार र कप्तान रोहित पौडेलसहित बाँकी खेलाडी आज वेष्ट इण्डिजतर्फ प्रस्थान गरिसकेका छन् ।

अघिल्लो साता विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिसकेको नेपाल क्रिकेट संघ (क्यान)ले १५ जनाको नाम घोषणा गरे पनि वैकल्पिक तर्फका खेलाडी घोषणा गरेको थिएन ।

आजको मुद्दामा सन्दीपको पक्षमा फैसला आएको खण्डमा टी २० विश्वकपमा वैकल्पिक तर्फबाट सहभागी हुन पाउने झिनो सम्भावना आजको पेशी हेर्न नमिल्नेमा परेसँगै अन्त्य भएको छ ।

एक दशकपछि टी २० विश्वकपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय टिममा सन्दीपको अनुपस्थितिले कस्तो असर पर्ला ? त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट