जसले १०२ वर्षमा आँखाको ज्योति पाए…-Sutra News

जसले १०२ वर्षमा आँखाको ज्योति पाए…

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१

काठमाडौं । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका ७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा कमजोर भएको होला भन्ने लागेर उनले वास्ता गरेनन् ।



विस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाडे । दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँडडुल गर्ने नसक्ने भए । श्रीमतीको मृत्युपछि दुई वर्षसम्म नातिको सहारामा हिँडडुल गरे ।

यसैबीच उनको जीवनमा फेरि खुसी फर्किएको छ । १०२ वर्षको उमेरमा उनको आँखाको ज्योतिसँगै खुसी फर्किएको हो । निःशुल्क आँखा शिविरमा उनको आँखा परीक्षण गर्दा दुवै आँखामा मोतियाबिन्दु भएको थाहा भयो । वैशाख ३० गते दाहिने र ३१ गते देब्रे गरी उनका दुवै आँखाको निःशुल्क शल्यक्रिया गरियो ।

नेपाल नेत्रज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल लहानका नेत्ररोग विशेषज्ञ डा. दीवाकर चौधरीको नेतृत्वमा शल्यक्रिया शिविरका लागि खोटाङ पुगेको टोलीले सहरमानको दुवै आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरेको हो ।

दुई दिनअघि नातिको सहारामा आँखा शिविर आएका सहरमान अहिले कसैको सहाराबिनै हिँडडुल गर्न सक्ने भएका छन् । शल्यक्रियापछि आँखाको दृष्टि खुलेसँगै उनले लौरो टेकेर खुसी हुँदै शिविर वरपर हिँडडुल गरे । गुमेको आँखाको दृष्टि पुनःफर्किएपछि उनमा खुसीको सीमा छैन ।

“अहिले त हेर्न पाएँ, सबैलाई देख्न पाएँ मलाई हर्ष छ, मेरो मनकति रमाएको छ”, उनले खुसी हुँदै भने । शल्यक्रियापछि पुनः संसार हेर्न पाएकाले अरुले पनि यसरी संसार देख्न सकून् भन्दै आर्शीवाद दिए ।

आँखा देखेपछि खुसीका आँसु झार्दै उज्यालो देखाउने सबैलाई उनले धन्यवाद दिए । “मलाई परमेश्वरले फेरि खुसी दिनु भयो मेरो लागि तपाईंहरु सबै जना परमेश्वर हुनुहुन्छ”, सहरमानले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट