फेरि राजनीतिको केन्द्रमा अशोक राई-Sutra News

फेरि राजनीतिको केन्द्रमा अशोक राई

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । अशोक राई कुनै बेला मुलधारको राजनीतिक पार्टी नेकपा (एमाले)को उपाध्यक्षको जिम्मेवारीमा थिए । पहिचानवादी मतको बलियो प्रतिनिधित्व गर्ने राईको एमालेभित्र बलियो दबदबा थियो ।



तर, राजनीतिमा जबरजस्त उदाएको पहिचानको सेन्टिमेन्टलाई नेतृत्व गर्न खोज्दै राई एमालेबाट बाहिरिए । २०६९ सालमा एमालेबाट बाहिरिँदै राईले पहिचान पक्षधरलाई समेटेर संघीय समाजवादी पार्टीको घोषणा गरेका थिए । तत्कालिन समय एकातिर माओवादीभित्र पहिचान पक्षधरहरुको जबरजस्त उदय भइरहेको थियो भने अर्कोतिर तराई मधेशमा पहिचान पक्षधर अगाडि आइरहेका थिए ।

यद्यपि, राईले सोंचेजस्तै पहिचान पक्षधरको मत संघीय समाजवादीले पाउन सकेन । उनी २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनबाट ५ सिटसहित संघीय समाजवादी ११औं पार्टी बनेको थियो ।

यद्यपि, उक्त निर्वाचनपछि उनी पुनः पहिचान पक्षधरलाई जुटाउने अभियानमा भने खुलेरै लागे । दोस्रो संविधानसभाबाट जबरजस्त उदाएको उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमसँग राईले २२ जेठ २०७२ पार्टी एकता गरेका थिए ।

तर, पार्टी एकतालगत्तै २०७४ मा भएको निर्वाचनमा पार्टी एक भएपछिको संघीय समाजवादी फोरम नेपालले त्यति बलियो जनमत बटुल्न सकेन । तत्कालिन चुनावमा संघीय समाजवादी फोरमले प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ १० सिट ल्याएको थियो ।

पार्टीको पक्षमा जनमत खस्किएसँगै अशोक राई पनि क्रमशः कमजोर र पृष्ठभूमिमा मात्रै देखिए । राईका निम्ति बिडम्बना नै मान्नुपर्छ, चुनावबाट निर्वाचन सबैजसो उपेन्द्र पक्षधर नै बने । राई २०७४ को चुनावपछि थप छायामा पर्दै गए ।

तर, जब डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्तिसँग पार्टी एकता भयो तब उनलाई केही राहत बन्यो । तर, बाबुराम नेतृत्वको नयाँ शक्तिपछि महन्थ ठाकुर नेतृत्वको राजपासँग एकता भएर जनता समाजवादी पार्टी बनेपनि पार्टी भने शक्तिशाली बन्न सकेन । एकातिर राई थप कुनामा पुगे भने अर्कोतिर पार्टीभित्र विवाद चरम अवस्थामा पुग्यो ।

योबीचमा क्रमशः पार्टी विभाजित हुँदै गयो । कहिले तत्कालिन राजपा समूह त कहिले बाबुराम क्रमशः जसपाबाट बाहिरिए । २०७९को निर्वाचनसम्म आउँदा दुवै समूह अलग्गिसकेका थिए । कमजोर पार्टीभित्र राई पनि बलियो हुने कुरा भएन ।

यद्यपि, २०७९ को निर्वाचनबाट राई आफैं मात्रै निर्वाचित भएनन्, केहीलाई पनि निर्वाचित बनाए । पार्टी २०७४ को तुलनामा सिट संख्याले कमजोर भएपनि राई भने केही बलिया बने । योबीचमा गठबन्धन परिवर्तन गर्ने (कांग्रेसबाट एमाले) सम्म राईको निर्णायक भूमिका छ । उनले अध्यक्ष यादवलाई आफ्ना एजेन्डामा पनि हिँडाएको देखिन्छ ।

एकाएक राईले आइतबार यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विद्रोह गर्दै जनता समाजवादी पार्टी (जसपा) गठन गरे । जसपाका १२ सांसदमध्ये ७ सांसदलाई आफ्नो पक्षमा उभ्याउँदै जनता समाजवादी पार्टी (जसपा) दर्ता गराएका छन् ।

७ सांसद गणीतका हिसाबले ठूलो छैन, तर त्रिशंकु संसद र गणीतिय जटिलताबीच निकै महत्वपूर्ण देखिन्छ । राईले जसपा फुटाएर नयाँ पार्टी गठन गरिरहँदा वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सुरक्षित बनेको विश्लेषण राजनीतिक वृत्तमा छ । अहिले विशेषगरी एकीकृत समाजवादी खुलारुपमै र जनता समाजवादी पार्टीको यादव पक्ष भित्रिरुपमा सरकार ढलाउने प्रर्यत्नमा थिए । तर, राईको विद्रोहसँगै सबैका योजना असफल भएका छन् ।

प्रचण्ड सरकार जोगाउने राई फेरि केन्द्रीय राजनीतिको महत्वपूर्ण पात्र बनेका छन् । राजनीतिकरुपमा राईको महत्व थप बढेको प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट