प्रतिष्ठा बनाइएको उपनिर्वाचनमा पनि किन घट्यो जनसहभागिता ?-Sutra News

प्रतिष्ठा बनाइएको उपनिर्वाचनमा पनि किन घट्यो जनसहभागिता ?

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । शनिबार प्रतिनिधिसभा सदस्यअन्तर्गतको रिक्त इलाम–२ र प्रदेशसभा सदस्यअन्तर्गतको रिक्त बझाङ–१(१) मा उपनिर्वाचन सम्पन्न भयो । निर्वाचन आयोगले जनाएअनुसार दुवै निर्वाचन क्षेत्रमा निर्वाचन शान्तिपूर्ण रह्यो ।



तर, शान्तिपूर्ण रुपमा उपनिर्वाचनमा मतदान भएपनि दुवै क्षेत्रमा मतदाताको सहभागिता भने न्यून रह्यो । निर्वाचन आयोगले बताएअनुसार इलाम–२ मा करिब ५९.७८ प्रतिशत मत खस्यो भने बझाङ–१(१) मा ४९.१२ प्रतिशत मात्रै मत खस्यो ।

आयोगका अनुसार इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन् थिए तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन् । यस्तै, बझाङ १(१) मा ६१ हजार ७४८ मतदाता थिए, ३० हजार तीन सय २८ मत खस्यो ।

हाल दुवै क्षेत्रको मतगणना चलिरहेको छ । तर, मतदाताको न्यून उपस्थितिसँगै निर्वाचनमाथि भने प्रश्न उठेको छ ।

दलहरुले उपनिर्वाचनलाई राजनीतिक प्रतिष्ठाको निकै बलियो लडाइँको रुपमा लिएका थिए । विशेषगरी प्रतिनिधिसभाअन्तर्गतको इलाम–२ मा मुख्य राजनीतिक दलहरुले आफ्नो पूर्ण शक्ति खन्याएका थिए ।

नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित विभिन्न दलहरु एक–अर्कालाई हराउने गरी चुनावी लडाइँमा उत्रिँदा थुप्रै स्वतन्त्र उम्मेदवार पनि देखिए । इलाम–२ मा स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमको पक्षमा पहिचानवादी शक्तिहरु एकाकार भएर लागेका थिए ।

इलाम–२ प्राथमिकता पर्दा बझाङ–१(१) भने त्यति धेरै चर्चामा रहेन । यद्यपि, बझाङ–१(१) मा पनि दलहरु बलियो गरी लडाइँमा उत्रिए ।

तथापि, मतदाताको उपस्थितिले भने उपनिर्वाचनलाई फिका बनाएको छ । पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेल मतदाताको उपस्थितिले निर्वाचनप्रति जनतामा नैराश्यता बढेको देखिएको बताउँछन् । जसको खोजी आवश्यक रहेको उनले बताए ।

“जे–जस्तो अनुपातमा मतदान भएको छ, यसले यसअघिको निर्वाचनभन्दा जनसहभागिता धेरै न्यून भएको देखाउँछ, यसले जनतामा नैराश्यता बढेको भने प्रष्ट्याउँछ”, पोखरेलले सूत्रसँगको कुराकानीमा भनेका छन्, “यो किन भयो दलहरुले खोजी गर्नुपर्छ ।”

उपनिर्वाचनलाई जनताले यसअघि पनि त्यति उत्साजनकरुपमा नलिने गरेको पोखरेल बताउँछन् । यद्यपि, पछिल्लो उपनिर्वाचनको जनसहभागिताबारे अध्ययन गरिनु आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट