जसपापछि तारोमा एकीकृत समाजवादी-Sutra News

जसपापछि तारोमा एकीकृत समाजवादी

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । आइतबार अप्रत्याशितरूपमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित बन्यो । यादव विदेश भ्रमणमा रहेकै बखत नेपालमा वरिष्ठ नेता अशोक राईको नेतृत्वमा बेग्लै पार्टी दर्ताको माग गर्दै नेताहरू निर्वाचन आयोग पुगेका थिए । संघीय संसदमा जसपाको तर्फबाट प्रतिनिधित्व गर्ने १२ सांसदमध्ये ७ जना नयाँ दल दर्ताको प्रक्रियामा गएका छन् ।



आकस्मिक विभाजनको कारण जसपाभित्र काे, कुन कित्तामा भन्ने अझै स्पष्ट छैन । स्वयम् विभाजन गरेर नयाँ दल दर्ताको प्रक्रियामा उभिएका नेताहरूले नै ‘छलफल बल्ल प्रारम्भ भएको’ बताएका छन् ।

जसपाभित्र खास मतभेदकाे अवस्था देखिएको थिएन । यद्यपि, वर्तमान सत्ता समीकरणको सन्दर्भमा केही असमझदारी विकास भएको देखिएको थियो । विभाजित भएर बेग्लै दल दर्ताको प्रक्रियामा गएका नेताहरुले पनि सत्ता गठबन्धनबाहेकको विषयमा असमझदारी नरहेको बताएका छन् ।

नयाँ दल दर्ताको प्रक्रियामा सहभागी नेता राजेन्द्र श्रेष्ठले “सरकारको स्थायित्वको लागि दल विभाजन गरिएको” प्रतिक्रिया दिएका छन् । उनको सरल भनाईलाई आधार मान्दा ‘सत्ता समीकरणभित्र फेरि फेरबदलको खेल’ हुन थालेपछि जसपा विभाजित बनाइएको बुझिन्छ ।

नेताहरुका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव पछिल्लो समय एमाले–माओवादी समीकरण भत्काएर कांग्रेस नेतृत्वमा समीकरण बनाउने कसरतमा थिए । जसमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बल लगाएर लागिरहेका थिए ।

योबीचमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष यादव र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पटक-पटक संवाद भएकाे छ। कतिपय नेताहरूले खुलारूपमै बजेटअघि नै सरकार ढल्ने अभिव्यक्ति सोही छलफलकै बीच दिएको बुझिन्छ । जुन खेल जसपाको विभाजनसँगै टरेको कतिपयको विश्लेषण छ ।

यद्यपि, जसपाको अप्रत्याशित विभाजनपछि तारो एकीकृत समाजवादीतर्फ फर्किएको अनुमान लगाउन गाह्रो छैन । अध्यक्ष नेपाल, कांग्रेससहितको समीकरणको पक्षमा उभिरहँदा सम्मानित नेता झलनाथ खनालसहितका नेताहरू भने वर्तमान सत्ता समीकरणकै पक्षमा खुलेर लागेका छन् । हालै एक सार्वजनिक सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै सम्मानित नेता खनालले “माधवको पछि लागेर पार्टी सती नजाने” बताएका थिए ।

दुई कित्तामा देखिएको एकीकृत समाजवादीभित्र पनि जसपा विभाजनको बाछिटाले नसताउला भन्न सकिन्न । जसपाको अप्रत्याशित विभाजनपछि एकीकृत समाजवादीका सम्मानित नेता खनालले छलफललाई अगाडि बढाएका छन् ।

घटनाक्रमकै बीच सोमबार माआवादी केन्द्रका उपमहासचिव एवम् अर्थमन्त्री वर्षमान पुनसँग खनालको अन्तरंग छलफल भएको छ । जुन छलफललाई सामान्यकृतरूपमा लिन मिल्दैन । किनकी वर्तमान सत्ता समीकरणका सुत्रधार नै माओवादी नेता पुन हुन् ।

खनालले छलफललाई अगाडि बढाइरहँदा अध्यक्ष माधव नेपालले पनि पार्टीका बैठकहरू बोलाएका छन् । आकस्मिकरूपमा बोलाइएका बैठकले पनि एकीकृत समाजवादीभित्र सकस चुलिएकाे संकेत गर्दछ ।

यद्यपि, अध्यक्ष नेपालनिकट मानिने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेय पार्टीभित्र कुनै असमझदारी नरहेको र जसपाको नियत आफूहरूले भोग्ने अवस्था नरहेको दाबी गर्छन् । “जसपा जुन नाटकीय ढंगले विभाजित बन्यो, यसको असर हाम्रोमा पर्छ कि भन्ने सन्दर्भ मिल्दैन, हाम्रो पार्टीभित्रको संरचना र जसपाको बेग्लै छ”, उनले भनेका छन्, “हामीभित्र कुनै त्यस्तो असमझदारीको अवस्था छैन, कित्ताकाटको अवस्था छैन ।”

यद्यपि, बाह्य शक्ति फुटाउन सकिन्छ कि भनिरहेको लागिरहेको भने सत्य भएको उनले बताए । “कसरी विभाजित बनाउन सकिन्छ, यिनलाई घर न घाटको कसरी बनाउन सकिन्छ भन्ने कल्पनामा केही शक्ति लागेका छन्, त्यो व्यर्थको कल्पना हो, त्यस्तो सम्भावना छैन”, उनले भनेका छन् ।

तर, जे–जसरी जसपाको विभाजन गराइयो, त्यसको नियति एकीकृत समाजवादीले भोग्दैन भन्न सकिन्न । राजनीतिक विश्लेषक मुकुन्द आचार्य एकीकृत समाजवादीभित्र पनि त्यस्तो अवस्था आउन सक्ने बताउँछन् । राष्ट्रिय दल नभएको कारण पनि एकीकृत समाजवादी फुट्नलाई समस्या नहुने उनले बताए ।

“अहिले जसपाभन्दा एकीकृत समाजवादीभित्र विवाद चर्को तहमा छ, राष्ट्रिय दल नभएको कारण पनि यसलाई फुट्न समस्या छैन”, उनले भनेका छन्, “माधव नेपाल र झलनाथबीच विकास भएको असमझदारी सामान्य तहको छैन, जसपाको विभाजनले थप वातावरण बनाएको भन्ने मेरो बुझाई छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट