अप्ठ्यारोमा रवि लामिछाने-Sutra News

अप्ठ्यारोमा रवि लामिछाने

बिहिबार, २० बैशाख २०८१

बिहिबार, २० बैशाख २०८१

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जमानतसमेत जोगाउन नसकेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र हलचली मच्चिएको छ । निर्वाचनको परिणामलाई लिएर कतिपय नेताबाट पार्टीभित्र विवाद जन्माउने शैलीका अभिव्यक्ति सार्वजनिक भएका छन् । विशेषगरी पार्टी सभापति रवि लामिछाने जोडिएको सहकारी प्रकरणकै कारण नतिजा निराशाजनक आएको विश्लेषण नेताहरुको देखिन्छ ।



निर्वाचनको निराशाजनक परिणामपछि रास्वपाका शीर्ष नेताहरु मंगलबार साँझ अनौपचारिक समीक्षात्मक छलफलमा जुटेका थिए । उक्त छलफलकै आधारमा निर्वाचनको समीक्षा गर्न वैशाख २४ मा पदाधिकारी र वैशाख २९ मा केन्द्रीय समितिको बैठक बोलाइएको छ । यद्यपि, रास्वपाभित्र अनौपचारिक छलफलसँगै विवाद भने सुरु भएका छन् ।

रास्वपाभित्र धेरै नेताहरुको बुझाई इलाम–२ मा निराशाजनक नतिजा आउनुमा सहकारी प्रकरण मुख्य कारण बनेको भन्ने छ । सहकारी प्रकरणमा स्वयम् पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछाने मुछिएका छन् । चुनावी अभियानमा समेत मतदाताबाट लामिछाने केन्द्रीत प्रश्नहरु मात्रै खनिएका थिए ।

रास्वपाभित्र सहकारी प्रकरणलाई निरुपण नगरे पार्टीकै भविष्य के हुने भन्ने अन्योल अहिले देखिएको छ । जसको कारण कतिपय नेताले पार्टी सभापति स्वयम्ले उचित निर्णय लिनुपर्ने बताउन थालेका छन् । नेताहरुले छानबिन लागि सभापतिले मार्ग खुला गर्नुपर्ने धारणा राखेका छन् ।

विगतमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लगातारको विरोधका कारण संसद अधिवेशन अन्त्य गरेर विवाद पन्छाउने प्रयास सरकारबाट भएको थियो । यद्यपि, विवाद जहाँको तहिँ देखिन्छ । अहिले सरकार बजेट अधिवेशन बोलाउने तयारीमा छ । तर, कांग्रेस पुनः सहकारी प्रकरणलाई नै उचाल्ने योजनामा देखिएको छ ।

कांग्रेस सहकारी प्रकरणलाई जसरी पनि उचाल्ने प्रर्यत्नमा लाग्दा सत्ता साझेदारभित्रैबाट पनि सहयोगी भनाईहरु आएका छन् । एकीकृत समाजवादीले खुलेरै छानबिनका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताएको छ । यता, एमाले र माओवादी केन्द्रका कतिपय नेताहरुले पनि लामिछानेलाई बोक्न नहुने धारणा बाहिर राखेका छन् ।

प्रतिपक्षी जसरी पनि सहकारी प्रकरणमाथि छानबिन समिति बनाउनु पक्षमा लाग्नु, सत्ता साझेदारभित्रै पनि क्रमशः छानबिनको पक्षमा माहोल बन्नु र स्वयम् रास्वपाभित्रै पनि सहकारी प्रकरणमाथि छानबिन समिति बनाउनुपर्ने धारणा आउनुले लामिछाने निकै सकसमा रहेको स्पष्ट हुन्छ । सरकारले बजेट अधिवेशन २४ वा २५ गतेबाट बोलाउने तयारी गरेको छ । जसलाई हेरेर धारणा बनाउने योजनामा लामिछाने देखिन्छन् । यद्यपि, चौतर्फी अवस्था लामिछानेका निम्ति प्रतिकुल देखिन्छ । पछिल्लो चुनावको नतिजाले समेत बढाएको निराशा लामिछाने लक्षित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट