सभामुखको प्रर्यत्न असफल, कांग्रेसको अडानपछि विवाद जहाँको तहिँ-Sutra News

सभामुखको प्रर्यत्न असफल, कांग्रेसको अडानपछि विवाद जहाँको तहिँ

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी प्रकरणलाई लिएर भइरहेको संसद अवरोध हटाउन प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाए । बैठक मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा झण्डै तीन घण्टासम्म चल्यो । तर, सभामुखले अपेक्षा गरेअनुसार दलहरुबीच सहमति जुट्न सकेन ।



बैठक सहमति खोज्न भन्दा एकअर्कालाई गाली गर्नमा केन्द्रीत बन्यो । सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको मागबाट कांग्रेस टसमस भएन । बरु आलटाल गर्न खोजे आक्रामकरुपमा प्रस्तुत हुने चेतावनी दियो ।

“देशैभरका सहकारीमा हिनामिना भएका छन्, त्यसको अनुसन्धान गरेर पीडितलाई न्याय दिने तथा बचतकर्ताको बचत सुरक्षा गर्ने दायित्व सरकारको हो”, बैठकबाट निस्किएका कांग्रेस प्रमुख सचेतक लेखकले भने, “तर एक जना माननीय (रवि लामिछाने) का बारेमा प्रश्न उठ्दा त्यसलाई सम्बोधन नगर्ने भन्ने हुन्न, योबाट हामी पछि हट्न सक्दैनौ ।”

सत्ता पक्षधरले भने गृहमन्त्री लामिछानेलाई केन्द्रीत गरी कांग्रेसले उठाएको मागलाई सम्बोधन गर्न नसकिने स्पष्ट पारेको छ । साथै, गृहमन्त्रीलाई संसदमा सम्बोधनको अवसर दिनुपर्ने पनि माग राखेको छ ।

“फलानो व्यक्ति दोषी छ, फलानो व्यक्तिमाथि छानबिन हुनुपर्छ भन्ने कुरामा हाम्रो सहमति हुँदैन, अरूलाई निषेध गर्ने तरिकाबाट उहाँहरूले प्रस्तुति दिइराख्नुभएको छ”, बैठकपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै एमाले प्रमुख सचेतक महेश बर्तौलाले भनेका छन्, “पहिला कसैबारेमा प्रश्न उठेको भए निजले आफ्ना कुरा राख्न पाउनुपर्छ, नेपाली कांग्रेसलाई सुन्न मन छैन होला तर हामीलाई सुन्न मन छ ।”

यता, रास्वपा सभापति रवि लामिछानेले भने आफूलाई बोल्ने अवसर दिनुपर्ने माग सभामुखसम्म राखेका छन् । उनले आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न मौका दिनुपर्ने बताएका छन् । लामिछानेले सभामुखलाई बोल्नको निम्ति समय माग्दै पत्र नै बुझाएका छन् ।

“सङ्घीय संसद्को गत अधिवेशनमा मैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरूले विभिन्न प्रश्न उठाउनु भएको थियो”, लामिछानेले पत्रमा भनेका छन्, “सो सम्बन्धमा मैले संसद्मा उपस्थित भइ सार्वभौम संसद मार्फत आम जनतालाई जानकारी गराउन चाहेको थिएँ । तर संसद्मा उत्पन्न भएको गतिरोधको कारण सम्भव भएन ।”

यद्यपि, तीन घण्टासम्म दलका शीर्ष नेताहरुबीच छलफल चलेपनि छलफल छलफलका निम्ति मात्रै सीमित बन्न पुग्यो । छलफलले कुनै निकास दिएको छैन । बरु, विवाद थप बढाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट