प्रहरीको हत्या घटना : एउटै टेबलमा बसेर खाजा खाए, सहयोग मागेर हत्या गरिदिए-Sutra News

प्रहरीको हत्या घटना : एउटै टेबलमा बसेर खाजा खाए, सहयोग मागेर हत्या गरिदिए

आइतबार, ६ जेष्ठ २०८१

आइतबार, ६ जेष्ठ २०८१

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।



प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत जवान घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले सात जना आरोपी पक्राउ गरी सार्वजनिक गरेको हो ।

खोटाङ मजुवागढी नगरपालिका १ घर भई हाल काठमाडौं टोखा नगरपालिका १० गोंगबु गणेशस्थान बस्दै आएका ३२ वर्षीय प्रहरी जवान घिमिरेको गत शुक्रबार हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

उनको शव तारकेश्वर नगरपालिका ९ मनमैजु बासुकीनाग टोलस्थित निर्माणाधीन दुई तले घरको भुइँ तलामा फेला परेको हो । त्यो स्थानलाई लागु औषध प्रयोगकर्ताले आफ्नो आश्रय स्थल बनाएका थिए ।

पक्राउ पर्नेमा स्याङ्जा आँधिखोला गाउँपालिका ३ घर भई बालाजु जरंखु, मनमैजुलगायत स्थानका सडकपेटीमा बस्दै आएकी २१ वर्षीया बसन्धुरा कार्की, भक्तपुर चाँगुनारायण १ घर भई सोही स्थानमा सडकपेटीमा बस्दै आएका २१ वर्षीय सचिन परियार, नुवाकोट घर भई सोही स्थानमा बस्दै आएकी १८ वर्षीया अन्जली श्रेष्ठ, आँधीखोला ३ कै ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट ताँदी गाउँपालिका ४ ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ छन् ।

यस्तै, अन्य पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती घर भई बालाजु, जरंखु, मनमैजु सडकपेटीमै बस्दै आएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र उदयपुर घर भई सोही ठाउँका सडकपेटीमा बस्दै आएका १३ वर्षीय एक नाबालक रहेका छन् ।

काठमाडौं १६ स्थित अष्टनारायण हलपछाडि बाइस धारा जंगलबाट भाग्न लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले जानकारी दिए । उनीहरूलाई पक्राउ गर्ने क्रममा एक राउण्ड हवाई फायर गरिएको रजौरेले बताए ।

कसरी भयो घिमिरेको हत्या ?

एसएसपी रजौरेका अनुसार प्रारम्भिक अनुसन्धानमा त्यस दिन घिमिरे ड्युटी सकेर आफ्ना सहकर्मीहरूसँग छुट्टिएको पाइएको छ । त्यसपछि उनी घर जानुअघि खाजा नास्ता खान तारकेश्वर नगरपालिका ११ स्थित एक खाजा घरमा पुगेको सीसीटीभी फुटेजले देखाएको छ ।

घिमिरे खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ त्यहाँ पुगेका थिए । घिमिरे र सचिनको पुरानो चिनजान थियो । अञ्जलीसमेत मिसिएपछि तीन जना एउटै टेबलमा बसेर खाजा खाए ।

‘खाजा खाइसकेपछि सचिनले आफूले आश्रय लिइरहेको घर (घटना स्थलसम्म) मोटरसाइकलमा पुर्‍याइदिन आग्रह गरे,’ रजौरेले भने, ‘घिमिरेले दुवै जनालाई मोटरसाइकलमा राखेर पुर्‍याइदिए ।’

त्यहाँ पुगेपछि सचिनले अञ्जलीलाई बिसञ्चो भएको भन्दै माथिसम्म जान नसक्ने बताए । अञ्जलीलाई बोकेर लैजान युवराजको सहयोग मागे । युवराजले सहयोग गरिदिए ।

सचिन र अञ्जलीले आश्रय लिइरहेको घरको पहिलो तलामा पुगेपछि सचिनले अचानक घिमिरेको हेल्मेट खोसे । हेल्मेटले उनको टाउकोमा प्रहार गरे ।

लगत्तै घटनास्थलमा बसिरहेका अन्य विपना, नुनमाया, बुद्ध, अमृत र नाबालकसमेत एक भएर न्युकेल, रड, इँटा, युवराजको युनिफर्मको बेल्ट, ढुंगालगायतले हिर्काएर घिमिरेको हत्या गरे ।

हत्या गरेपछि घिमिरेको शवलाई म्याट्रेसले छोपेर लुकाए । घिमिरेले लगाएको जुत्ता जलाएर नष्ट गरी जरंखुतर्फ सडकपेटीमा गएर लुके । हत्याको कारणबारे प्रहरीले खोजी गरिरहेको रजौरेले बताए ।

घिमिरेको हत्या गर्नुमा लुटपाट, महिलासँगको विवादलगायत कारण हुन सक्ने एसएसपी रजौरेले बताए । बसपार्क क्षेत्रमा कार्यरत् रहँदा घिमिरेको सचिनसँग चिनजान थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट