‘पुजार सार्की’- तीन अभिनेताको स्टारडम परीक्षण !-Sutra News

‘पुजार सार्की’- तीन अभिनेताको स्टारडम परीक्षण !

आइतबार, ६ जेष्ठ २०८१

आइतबार, ६ जेष्ठ २०८१

काठमाडौं । यही बिहीबार बुद्ध जयन्तीको अवसरमा फिल्म ‘पुजार सार्की’ देशैभर प्रदर्शनमा आउँदै छ । यस्तैमा फिल्मको प्रचार प्रसारका लागि पूरै टिम जुटिरहेको छ ।



प्रचार प्रसारका लागि टिमले गरेको मेहेनत हेर्दा लाग्छ, हरहालमा उनीहरूलाई फिल्म चलाउनु पर्ने दबाब छ । न होस् पनि कसरी, फिल्मका सबै कलाकारलाई फिल्म चल्नै पर्ने अवस्था आइपरेको छ ।

चकलेटी तथा रोमान्टिक अभिनेताको चिनारी बनाउँदै आएका आर्यन सिग्देलका लागि यो फिल्म चल्न जरुरी छ । लामो समयपछि फिल्ममा देखिएका उनी यसअघि फिल्म ‘डिसेम्बर फल्स’मा देखिएका थिए ।

आर्यनलाई डिसेम्बर फल्सले आफ्नो पुरानो छवी धमिलो बनाइदिएको थियो । यसबाट पनि उनको करिअरका लागि राम्रो छाप छाड्न सकेन । यसले नयाँ पुस्तासँगको तुलनामा आफूलाई अब्बल प्रमाणित गर्नु पर्ने उनीमाथि दबाब थियो । उनको पछिल्लो फिल्म ‘पुजारी सार्की’मा नयाँ पुस्तासँगै देखिँदै केही फरक गर्ने प्रयास गरेका छन् ।

साथै, उनले आगामी दिनमा आफ्नो करिअरका लागि यही फिल्मलाई परीक्षा मान्नु पर्ने छ । आफ्नो पुरानो क्रेजलाई समेत ख्याल गर्नु पर्ने भएको छ ।

यस्तै, अर्का नायक पल शाहको कुरा गर्ने हो भने कारागारको बसाइँपछिको पहिलो फिल्म दर्शकमाझ आउन लागेको हो । ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन हुने बेला जेल परेका उनी कहिले बाहिर आएर फिल्ममा देखिन्छन् भन्ने दर्शकको चाहाना थियो । सुटिङका हिसाबले फिल्म ‘मायाबी’ पहिलो भए पनि प्रदर्शनका हिसाबले पुजार सार्की पहिलो बन्ने भएको छ ।

लामो समयसम्म पर्दामा नदेखिएका पलले आफ्नो पुरानो क्रेज र दर्शकको आशालाई प्रमाणित गर्ने पर्ने त छँदै छ, आफूलाई समेत उठाउनु पर्ने छ । उसो त उनी अरू कलाकार जस्तो प्रचारमा हिँड्न भ्याएका छैनन् । तर पलको लागि फिल्म चल्नै पर्ने दबाब छ ।

दबाबकै कुरामा जोडिन आइपुगेका नायक हुन्, प्रदीप खड्का । ‘प्रेम गीत ३’पछि कुनै पनि फिल्म नदेखिएका उनी पुजार सार्कीमार्फत देखिँदै छन् । विषेश गरी, फिल्म चलाउनु पर्ने दबाब उनको काँधमा बढी देखिन्छ । अरू कलाकारको तुलनामा आफ्नो स्टारडम बढी भएकाले उनीमाथि यस्तो दबाब आइपरेको हो ।

तीन नायकहरूमा परेको दबाब अभिनेत्री अञ्जना बराइलीको काँधमा समेत आइपरेको छ । उनी फिल्म चलाउन हर प्रयासमा लागिरहेकी छन् । ‘महापुरुष’बाट डेब्यू गरेर पहिलो फिल्ममै सफलता पाएकी उनी फेरि उही बाटो दोहोर्याउन चाहन्छिन् ।

पहिलो फिल्म हिट भएर चर्चामा भए पनि गुमनाम बनेकी उनी संर्घष गरिरहेकी छन् । यो फिल्मबाट उनको आगामी बाटो के कस्तो हुने ? त्यो पनि मूल्यांकन हुने स्थिति छ । सोही हिसाबले उनी यो फिल्म चलोस् भन्ने ठूलो आशाको भारी बोकेकी छन् ।

केही म्युजिक भिडियो र एक फिल्ममा सहकलाकारको भूमिका पाएकी उनी यो फिल्मबाट रातारात बदलियोस् भन्ने आशामा छिन् । कहिकतै राम्रो भूमिका नपाएकी उनी यो फिल्ममा मुख्य अभिनेत्रीकै भूमिका पाएकी छन् । यो हिसाबले उनका लागि पुजारी सार्की चल्दा आगामी दिनमा करिअरको मुल फुट्ने सम्भावना हुन्छ ।

समग्रमा यो फिल्म चल्नु पर्ने दबाबमा सबै कलाकार रहेका छन् । विषेश गरी तीन स्टार अभिनेताहरूको स्टारडम परीक्षण हुने भएको छ । भोलिका दिनमा स्टारडमले बक्स अफिसमा समेत नजर अन्दाज गर्छ । साथै करिअरको नयाँ मोडमा परीक्षा दिन लागेका उनीहरू अभिनित पुजारी सार्की चल्छ वा चल्दैन ? त्यो भने बिहीबारदेखि नतिजा सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट