इलामको छायाँमा बझाङको निर्वाचन !-Sutra News

इलामको छायाँमा बझाङको निर्वाचन !

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलामको प्रतिनिधिसभा २ र बझाङ प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा १ मा उपनिर्वाचनको तयारी गरिरहेको छ । आयोगले उपनिर्वाचन गर्ने भएसँगै दलहरूमा चुनावी रौनक देखिएको थियो । 



योभन्दा अगाडि निर्वाचनको मिति तय भएसँगै इलाम २ मा सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरूले बाक्लो उपस्थिति देखाएका छन् । आफ्नो उम्मेदवारलाई जिताउन कांग्रेसका महामन्त्रीहरू, एमालेका अध्यक्षसहित शीर्ष नेताहरू, एकीकृत समाजवादीका सम्मानित नेतासहित अन्य नेताहरू इलाममा केन्द्रित भएका छन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा मन्त्रीसमेत रहेकी सांसद सुमना श्रेष्ठसहित नेताहरू इलाममा आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाउन पुगेका छन् ।

इलामको उपनिर्वाचनलाई प्रतिष्ठाको लडाइँ मानेको दलका नेताहरू आरोप प्रत्यारोपमा उत्रिएका छन् । आफ्नो नैतिक धरातलभन्दा तल पुगेर मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् ।

इलामलाई केन्द्रबिन्दु बनाएर दलहरू चुनावी अभियानमा होमिँदा बझाङको उपनिर्वाचन छायाँमा परेको छ । यतिसम्मकी बझाङमा कुन–कुन दलले उम्मेदवारी दिएका छन् भन्नेसम्म दलहरू आफै बेखबर बनेका छन् । निर्वाचन आउन जम्मा चार दिन बाँकी रहँदा केन्द्रीय स्तरका कुनै पनि नेताहरू बझाङमा पुग्न सकेका छैनन् ।

हालका शीर्ष नेताहरूको मौन भए पनि बझाङमा उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । आफ्ना पक्षमा मत पार्न आफ्ना एजेण्डासहित उम्मेदवारहरू गाउँगाउँ पुगेका छन् । चुनावी अभियानका लागि दलका उम्मेदवार तथा नेता कार्यकर्ताहरू घरघर पुगेका छन् ।

माओवादी केन्द्रका उम्मेदवार जनक बुढा चुनावी अभियानमा जाँदा दलहरू एकैपटक भएको बताए । उनले चुनावी अभियानमा उम्मेदवारहरू सँगै भएको बताउँदै भने, “पालिकाभित्र भने सँगसँगै नभएर वडा–वडामा घरदैलो अभियानमा गयौँ ।”

बझाङको उपनिर्वाचनमा रास्वपाबाहेक कांग्रेसबाट अभिषेकबहादुर सिंंह, एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्का, मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा ११ राजनीतिक दलबाट उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच उपनिर्वाचनलाई ध्यान दिँदै आयोगले सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको छ । सोमबार एक सूचना जारी गर्दै आयोगले निर्वाचन हुने जिल्लासँग जोडिएको राजमार्गमा सवारी आगमन व्यवस्था मिलाउन निर्देशन दिएको हो । यसैगरी, मतदाताको सुरक्षा गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट