विदेशी सम्बन्धनको लहड : एक वर्षमा बाहिरियो झण्डै डेढ अर्ब रकम-Sutra News

विदेशी सम्बन्धनको लहड : एक वर्षमा बाहिरियो झण्डै डेढ अर्ब रकम

सोमबार, २२ माघ २०८०

सोमबार, २२ माघ २०८०

काठमाडौं । विदेशी विश्वविद्यालयको सम्बन्धन शीर्षकमा गत आर्थिक वर्षमा झण्डै डेढ अर्ब रकम बाहिरिएको छ । शिक्षा मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार विभिन्न ८४ कलेजले एक वर्षको अवधिमा एक अर्ब ३० करोड ५६ लाख ९१ हजार रुपैयाँ रकम सम्बन्धन शीर्षकमा विदेश पठाएका हुन् ।



सो रकम पठाउँदा कर वापत् सरकारको खातामा छ करोड ६१ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

जसमध्ये सबैभन्दा बढी सम्बन्धन शीर्षकमा इस्लिङ्टन कलेज, कमलपोखरीले पठाएको छ । उक्त कलेजले २५ करोड ६९ लाख ८७ हजार रुपैयाँ रकम विदेश पठाएको छ । इस्लिङ्टन कलेजले लण्डन लण्डन मेट्रोपोलिस युनिभर्सिटीबाट सम्बन्धन लिएको छ ।

मन्त्रालयले जनाएअनुसार सो रकम पठाउन कलेजले २०७९ असोज ६ मा मन्त्रालयले स्वीकृति लिएको थियो । अघिल्लो वर्ष पनि सो कलेज २४ करोड ५८ लाख ७९ सम्बन्धन शीर्षकमा विदेश पठाएको थियो ।

इस्लिङ्टन कलेज पछि सबैभन्दा बढी हेराल्ड कलेज नक्सालले रकम पठाएको छ । सो कलेजले १८ करोड २२ लाख २६ हजार रुपैयाँ सम्बन्धन शीर्षकमा विदेश पठाएको छ । हेराल्डले वेल्भर ह्याम्पटन नामक बेलायतको विश्वविद्यालयबाट सम्बन्धन लिएको छ ।

यस्तै, मन्त्रालयले जनाएअनुसार सफ्टवेरिका कलेज, डिल्लीबजारले सम्बन्धन शीर्षकमा सात करोड ४३ लाख ५५ हजार रुपैयाँ विदेश पठाएको छ । आइटी विषय पढाउने यस कलेजले बेलायतको कन्भेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन लिएको जनाएको छ ।

यस्तै, द ब्रिटिश केलज, थापाथली काठमाडौंले एक वर्षमा सम्बन्धन शीर्षकमा चार करोड ३६ लाख १९ हजार रुपैयाँ रकम विदेश पठाएको छ । कलेजले यूनिभर्सिटी अफ वेस्ट, बेलायतबाट सम्बन्धन लिएको जनाएको छ ।

यसैगरी, इन्स्टिच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट साइन्स (आइएमएस) कलेज, काठमाडौंले सम्बन्धन शीर्षकमा चार करोड ३१ लाख रुपैयाँ विदेश पठाएको छ ।

मन्त्रालयले जनाएअनुसार हाल विभिन्न ८७ कलेजले विदेशी सम्बन्धन लिएर अध्यापन गराइरहेका छन् । जसमध्ये तीन वटा कलेजले भने रकम पठाउन स्वीकृति पाएका छैनन् । मापदण्ड पूरा नगरेका ती कलेजलाई स्वीकृति नदिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट