कम्युनिष्टहरूको इतिहासः व्यक्तिगत इगोमा फुट्ने, सत्ता स्वार्थमा जुट्ने !-Sutra News

कम्युनिष्टहरूको इतिहासः व्यक्तिगत इगोमा फुट्ने, सत्ता स्वार्थमा जुट्ने !

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । वि.सं. २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठले स्थापना गरेको एउटा नेपाल कम्युनिष्ट पार्टी आज सयौँ टुटफुटबाट गुज्रिँदै दर्जनौँको संख्यामा विभाजित अवस्थामा छ । तीन ठूला पार्टी त राष्ट्रिय राजनीतिको केन्द्रमै छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले सरकारकै नेतृत्व गरिरहेको छ भने नेकपा एमाले र एकीकृत समाजवादी सत्तासाझेदारका रुपमा रहेका छन । अन्य साना पार्टी पनि दर्जनौँको संख्यामा अस्तित्व धान्ने प्रयासमा छन् । 



पुष्पलालले २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । तत्कालीन राजा महेन्द्रको कदमपछि केशरजंग रायमाझीले पञ्चायती शासन व्यवस्थालाई समर्थन गर्दा  कम्युनिष्ट पार्टी पहिलो पटक २०१९ सालमा विभाजन भयो । छिन्नभिन्न भएका कम्युनिष्टहरूलाई एकताको आव्हान गर्दै २०२५ सालमा पुष्पलालले आयोजना गरेको छुट्टै महाधिवेशनले पनि छुट्टै घटक गठन गर्यो ।  

कम्युनिष्ट पार्टी केन्द्रविहीनताको अवस्थामा पुगेपछि २०२८ सालमा झापालीहरूले विद्रोह गरी छुट्टै घटकको बिजारोपण गरे । सिपी मैनाली लगायतको समूहले कोर्डिनेशन कमिटी बनाएको थियो । पुष्पलालको निधनपछि त्यस समूहमा रहेका मदन भण्डारी लगायतका नेताहरू छुट्टिएर मुक्तिमोर्चा बनाएका थिए । यी दुवै समूह मिलेर २०३५ सालमा नेकपा मालेको गठन भयो । पुष्पलाल समूहमा रहेका मनमोहन अधिकारी लगायतका नेताहरू समेत मालेमा मिलेपछि नेकपा एमाले बन्यो । 

तत्कालीन देउवा सरकारले भारतसँग गरेको महाकाली सन्धिको विषयलाई लिएर एमालेमा ठूलो विवाद भयो । विवादकै कारण २०५४ मा एमाले विभाजन भयो । वामदेव गौतम नेतृत्वमा नेकपा माले गठन भयो । २०५८ मा वामदेवको समूह एमालेमा फर्कँदा सिपी मैनालीले त्यसलाई अस्वीकार गरी मालेलाई नै निरन्तरता दिए । 

मोहनविक्रम सिंहले जग बसाएको माओवादी धार पनि टुटफुट हुँदै अगाडि बढेको इतिहास छ । २८ सालतिरै झापा आन्दोलन चर्किदै गर्दा पार्टी एक गर्ने भन्दै मोहन विक्रम सिंहले पनि केन्द्रिय न्युक्लियस गठन गरेका थिए । यसले पनि चौथो महाधिवेशनको रुपमा छुट्टै घटकको अस्तित्व बनायो । यसले पनि चौम, मोटो मसाल, पातलो मशाल आदिका नाममा पटक पटक विभाजनको सामना गर्नुपर्यो । 

पञ्चायतको अन्त्य र बहुदलको पुनःस्थापनापछि प्रचण्ड नेतृत्वमा रहेको नेकपा मशाल, निर्मल लामा नेतृत्वको नेकपा चौम, श्रमिक संगठन र रूपलाल समूह मिलेर एकता केन्द्र बनाए । यही एकता केन्द्रको एउटा समूह प्रचण्ड नेतृत्वमा सशस्त्र युद्धमा गयो । यसलाई अस्वीकार गरेर नारायणकाजी समूहले एकता केन्द्रलाई नै निरन्तरता दियो । माओवादी शान्ति प्रकृयामा आएपछि भने फेरि पार्टी एक भयो । संसदीय व्यवस्थाप्रति विमति जनाउँदै मोहन वैद्य समूह माओवादीबाट अलग भयो । वैद्य समूह पनि एक रहेन । बादलहरु माओवादीमै फर्किए । विप्लवले छुट्टै समूह चलाए । 

२०७५ जेठ ३ गते एमाले र माओवादी मिलेर नेकपा बनाए । यो कम्युनिष्ट पार्टीको इतिहासमा ठूलो एकीकरण थियो । तर यसले फुट पनि ठूलै लिएर आयो । एमाले र माओवादी पूर्वावस्थामा फर्किए । बादललगायतका नेताहरू एमालेमै रहे । तर एमाले पनि एक रहन सकेन । माधव नेपाल र झलनाथ खनालले नेकपा एकीकृत समाजवादी नामको छुट्टै पार्टी बनाए । 

यी बाहेक मोहनविक्रम र चित्रबहादुर केसी, नारायणमान बिजुक्छे, सिपी मैनाली, मोहन वैद्य, विप्लव लगायतले साना साना कम्युनिष्ट पार्टी चलाइरहेका छन । यस अवधिमा थुप्रै नेताहरू कम्युनिष्ट राजनीतिबाट अलग भएका छन । कोही राजनीतिबाट टाढा छन त कोही फरक नीति र सिद्धान्तको पसल चलाउने प्रयासमा छन् । 

विभिन्न उतारचढावपछि संयोगले माओवादी, एमाले र एकीकृत समाजवादी तीनवटै ठूला कम्युनिष्ट घटक अहिले सरकारमा छन । देश, जनता र जनजिविकाका सवालमा यिनको साझा दृष्टिकोण नभए पनि सत्ताका सवालमा यिनीहरू एक ठाउँमा हुनसक्छन् भन्ने यो गतिलो उदाहरण हो । एकै सरकारमा रहे पनि यिनीहरूको मन मिलेको भने देखिँदैन, यिनले आ आफ्नै डम्फु बजाउन छोडेका छैनन् ।

कम्युनिष्टहरू स्वार्थ र सत्ताका लागि एक भएका छन । अनि नीति र सिद्धान्तको लेप लगाए पनि नेताका व्यक्तिगत स्वार्थ र इगोका कारण विभाजन भएका छन । कम्युनिष्ट नामका खुद्रा पसल चलाएरै रमाएका नेताहरूलाई यिनैले बनाएका दस्तावेजमा उल्लेख नीति र सिद्धान्तको ठेलीले गिज्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट