सतीशलालको पछि लाग्दा सँगै डुबे तीन वाणिज्य बैंक-Sutra News

सतीशलालको पछि लाग्दा सँगै डुबे तीन वाणिज्य बैंक

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

काठमाडौं । सतिशलाल आचार्यले स्मार्ट टेलिकम डुबाउँदा तीन वाणिज्य बैंक पनि चुर्लुम्मै डुबेका छन् । आचार्यको पछि लागेर स्मार्टमा लगानी गरेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक), प्राइम कमर्सियल बैंक र लक्ष्मी सनराइज बैंक (तत्कालिन लक्ष्मी बैंक) डुबेका हुन् ।



स्मार्ट टेलिकमले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार नै स्मार्ट टेलिकममा तीन बैंकको गत वर्ष दुई अर्ब २१ करोड १० लाख ५३ हजार रुपैयाँ लगानी थियो । जुनको ब्याज थपिँदा अहिले थप केही करोड बढी भएको छ ।

विवरणअनुसार गत आर्थिक वर्ष नै नेपाल इन्भेस्टमेन्टबाट एक अर्ब ३१ करोड ७१ लाख, प्राइमबाट ७३ करोड ३९ लाख र लक्ष्मीबाट ८ करोड रुपैयाँ ऋण लिइएको थियो । कम्पनीले टेलिकमको क्षमता विस्तार, सेवा विस्तार तथा प्रविधि खरिद शीर्षकमा बैंकहरुबाट ऋण उठाएको थियो । तर, कम्पनी डुबेसँग उक्त ऋण पनि अलपत्र बनेको छ ।

सतिशलालले डुबाएका एक बैंकर्स निकै अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । कम्पनीसँग छलफल भइरहे पनि निकास निस्कन नसकेको उनले सुनाए ।

“बडो अप्ठ्यारो बनेको छ, यो राज्यले नै हेरिदिनुपर्ने अवस्थामा पुगेको छ”, ति बैंकर्सले भनेका छन्, “कम्पनी बन्द भएसँगै विषय थप असहज बनेको छ, कम्पनीसँगको संवाद भएपनि निकास निस्केको छैन । सरकार नै मध्यस्कर्ता बनेर सल्टाउनुपर्छ ।”

तीन बैंक डुब्दा अन्य थुप्रै व्यवसायी पनि स्मार्ट टेलिकमको कारण डुबेका छन् । प्राधिकरणका उच्च अधिकारीका अनुसार अहिले प्राधिकरणका दिनहुँ जसो स्मार्ट टेलिकमबाट भएका पीडितहरु गुनासो लिएर जाने गरेका छन् ।

रिचार्ज र सिम खरिदकर्ताहरुलाई मात्रै सतिशलालको समूहले ४३ करोडभन्दा बढी रुपैयाँ भुक्तान गर्नुपर्ने छ । अर्कोतर्फ, कार्यालय र टावर राखिएका सयौंले घरभाडावापतको रकम पाएका छैनन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०८० वैशाख ३ मा स्मार्ट टेलिकम प्रा.लि.को अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो । सँगै प्राधिकरणले कम्पनीलाई आफ्नो नियन्त्रणमा लिने निर्णय पनि गरेको थियो । प्राधिकरणले आधिकारिकरुपमा कम्पनीलाई जेठ ८ मा नियन्त्रणमा लिएको थियो ।

प्राधिकरणले नियन्त्रणमा लिँदा कम्पनीले नविकरणसहित विभिन्न शीर्षकमा २७ अर्बभन्दा बढी रकम राज्यलाई बुझाउनुपर्ने थियो । तर, प्राधिकरणले नियन्त्रणमा लिएसँगै कम्पनी उक्त दायित्वबाट भाग्न खोजेको छ । यद्यपि, प्राधिकरणले नियन्त्रणमा लिँदै गर्दा यसअघिका सबै दायित्व कम्पनीकै हुने बताएको छ ।

सम्बन्धित समाचार

सतीशलाललाई जोगाउँदा अर्बौंको दायित्वमा फस्यो प्राधिकरण, व्यवसायी र बैंकर्सबाट हैरानी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट