काठमाडौँ । सुकुम्वासीलाई हटाउन कस्सिएर लागेका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।
शाहले अध्यक्ष ओलीले आजसम्म सुकुम्वासीलाई भोटको बैंक बनाएको आरोप लगाए ।
उनले ओलीलाई मन्त्री र प्रधानमन्त्री पटकपटक बनिसक्दा पनि सुकुम्वासीको समाधान गर्न नसकेको भन्दै कटाक्ष गरेका छन् ।
सामाजिक संजालमा प्रमुखले लेखेका छन्, ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे ।‘
उनले थपेका छन्, ‘तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन । तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला’
प्रतिक्रिया