किन वाम शक्तिबीच एकताको पक्षमा छैनन् ओली ?-Sutra News

किन वाम शक्तिबीच एकताको पक्षमा छैनन् ओली ?

आइतबार, ९ बैशाख २०८१

आइतबार, ९ बैशाख २०८१

काठमाडौं । सत्ता समीकरण परिवर्तनसँगै वाम एकताको वातावरण बनेको बुझाई धेरैको देखियो । हुन पनि नेतृत्व तहमा रहेका नेताहरुले नै सो कोणबाट सार्वजनिकरुपमा अभिव्यक्ति दिएको पाइन्छ । तर, वाम शक्तिहरुमध्ये संसदीय अभ्यासमा रहेको सबैभन्दा ठूलो शक्ति नेकपा (एमाले) भने एकताको विपक्षमा देखिएको छ ।



एमालेले वाम शक्तिबीच एकता गर्नु ‘घातक’ हुनसक्ने विश्लेषण गरेको छ । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा वाम शक्तिबीच एक गर्न नहुने तर्क गरिएको हो । ओलीले वामपन्थी एकता मात्र होइन, समाजवादी धु्रवीकरणसमेत तत्कालका लागि उचित नभएको तर्क गरेका छन् ।

“मुलुकमा जस्ता गम्भीर समस्याहरू छन्, तिनको समाधानका लागि सबै राजनीतिक पार्टीहरू माझ निरन्तर संवाद आवश्यक छ, मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो छ  अनि, विचार मिल्नेहरूमाझ सहकार्य आवश्यक छ, त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता, समाजवादी ध्रुवीकरण वा अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यावहारिक र लाभदायी हुँदैन”, ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

अहिले माओवादी केन्द्रसहित साना वाम दलहरु मिलेर समाजवादी मोर्चा बनाएका छन् । मोर्चालाई विस्तार गर्दै एमालेलगायतलाई पनि समेट्ने तयारीमा दलहरु देखिन्छन् ।

मोर्चाको संयोजक बनेसँगै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले अध्यक्ष ओलीलाई भेटेर र लिखित पत्र पठाएर मोर्चामा आबद्ध हुन आग्रह गरको थिए । उनले एमाले पनि मोर्चामा आबद्ध हुने विश्वास सार्वजनिकरुपमा व्यक्त गरेका थिए ।

तर, ओलीले उक्त मोर्चालाई पनि ठाडै अस्वीकार गरिदिएका छन् । उनले उक्त मोर्चाको औचित्य नभएको समेत टिप्पणी गरेका छन् । ओलीले सबै शक्तिबीच सहकार्य गरेर जानु नै अहिलेको आवश्यकता भएको तर्क आफ्नो प्रतिवेदनमा पेश गरेका छन् ।

यद्यपि, वामपन्थी दलहरुलाई आशाको त्यान्द्रो भने ओलीले प्रतिवेदन राखिदिएका छन् । वामपन्थी एकताको पक्षमा देखिएका दलहरुलाई नबिच्काउनकै निम्ति ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन्, “सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरू क्रमशः एकै ठाउँ हुँदै जानेछन् ।”

ओलीको राजनीतिक प्रतिवेदनलाई केलाउँदा ओली तत्कालिन एमाले–माओवादी एकताबाट त्रर्सिएको मान्दा अन्यथा हुँदैन । तत्कालिन समय माओवादी केन्द्रसँग एकताको निम्ति कस्सिएका ओलीले एकतापछि नै निकै नमिठो राजनीतिक हानी व्यहोरेका थिए ।

एमाले र माओवादी केन्द्रबीचको एकता मात्रै टुटेन एमाले पनि पटक–पटक फुट्यो । जुन फुटाइपछि वामपन्थी शक्तिको पक्षमा माहोल पनि क्रमशः हराउँदै गइरहेको छ । जुन अवस्थाबाट चेतेका ओली तत्काल एकता होइन, एमालेलाई नै बलियो गराउँदै जाने पक्षमा देखिएका छन् ।

ओलीको पछिल्लो राजनीतिक प्रतिवेदनले वाम शक्तिबीच भने दुरी बढाउन सक्ने विश्लेषण राजनीतिक विश्लेषकहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट