पूर्वी रुकुमको मैकोट पुगे धिरज र उपासना, ‘खुस्मा’को प्रदर्शन मिति तय-Sutra News

पूर्वी रुकुमको मैकोट पुगे धिरज र उपासना, ‘खुस्मा’को प्रदर्शन मिति तय

शुक्रबार, १४ बैशाख २०८१

शुक्रबार, १४ बैशाख २०८१

काठमाडौं । फिल्म ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ ।



पूर्वी रुकुमको मैकोटबाट दोस्रो चरणको छायांकन सुरु गरिएकोे हो । फिल्मको गत माघमा मनाङका विभिन्न क्षेत्रमा पहिलो चरण छायांकन गरिएको थियो ।

निर्देशक अशोक थापा मगरले बिहीबारबाट सुरु भएको छायांकन पुन मगरको उद्गम स्थल रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए ।

यो फिल्ममा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको छ । उनीहरु पहिलो पटक जोडीका रुपमा देखिदै छन् । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने बताइएको छ ।

यता, दोस्रो चरणको छायांकन सुरु गरिएसँगै फिल्मको प्रदर्शन मिति तय गरिएको छ । यसलाई असोजको ३ गतेबाट नेपालसहित विभिन्न देशमा प्रदर्शन गरिने निर्माणपक्षले घोषणा गरेको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर आफैले लेखेका हुन् । फिल्मको छायांकन गर्न पुगेको ‘खुस्मा’ टिमलाई मौकोट बासीले भव्य स्वागत गरेका थिए । रुकुमको मैकोट अभिनेता धिरजको जन्मथलो पनि हो । उनी त्यहाँबाट २ वर्षको उमेरमा युके गएका थिए ।

डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले नौ वटा विभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् । फिल्मका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन(खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।

असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुने यो फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट