सुध्रिने बाचा गरी माइतबाट श्रीमती ल्याएर हत्या, श्रीमान पक्राउ-Sutra News

सुध्रिने बाचा गरी माइतबाट श्रीमती ल्याएर हत्या, श्रीमान पक्राउ

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई पक्राउ गरेको छ । रामग्राम नगरपालिका १६ सबुनीकी ललिता कँहारलाई उनका श्रीमान जोखनले गत वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लागेको थियो ।



प्रहरीले कँहारलाई आज पाल्हीनन्दन गाउँपालिका ६ पडरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिए । उनका अनुसार श्रीमान श्रीमतीबीच लामो समयदेखि विवाद हुँदै आएको थियो ।

भारतको महारजगञ्ज जिल्लास्थित नौतनवा माइत भएकी ललिताको श्रीमानसँग छ महिनाअघि विवाद भएपछि माइतमै बस्दै आएकी थिइन् । पछि उनका श्रीमान जोखनले सुध्रिने बाचा गरेपछि वैशाख २१ गते श्रीमतीलाई आफ्नै घरमा ल्याएका थिए ।

सोही दिन राति साढे १० बजे श्रीमतीलाई सुत्ने कोठामा धरिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको आरोप छ । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

आठ वर्षअगाडि विवाह भएका उनीहरूको दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट