वामदेवको रोदन : न माधवले वास्ता गरे, न ओलीले !-Sutra News

वामदेवको रोदन : न माधवले वास्ता गरे, न ओलीले !

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनसँगै वामदेव गौतम यता न उताका भए ।



योबीचमा नेकपालाई फेरि ब्युँताउँछु भन्दै उनले नेकपा राष्ट्रिय एकता महाअभियानको नाममा अभियान चलाए । तर, उनको अभियान पूर्ण असफल बन्न पुग्यो ।

अभियानका सुरु गर्दा साथ दिएका सबैजसोले छाडे । विश्वासपात्र मानिएका पनि क्रमशः अन्य पार्टीतर्फ मोडिए ।

अभियान पूर्ण असफल बनेपछि गौतम कहिले एमालेमा फर्किन बार्गेनिङमा देखिए भने कहिले एकीकृत समाजवादीमा । तर, दुवैबाट उनका मागलाई अस्वीकार गरेपछि उनी अहिले अलपत्र अवस्थामा छन् ।

सोमबार सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा गौतमलाई सहभागि हुने अवसर मिल्यो । जसमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पनि सहभागि थिए । जुन मञ्चलाई प्रयोग गरी उनले खुलेरै एमालेमा फर्किने वातावरण बनाउन अध्यक्ष ओलीसँग आग्रह गरे ।

“पार्टी फुटेपछि एक पटक मलाई उहाँले (केपी शर्मा ओली) बोलाउनुभएको थियो, त्यस बेला आइन, बोलाएको बेलामा जानुपर्थ्यो, आज घाटा लागेको छ”, गौतमले भनेका छन्, “अब आउने व्यवस्था मिलाउनुस्, तपाईँको खुट्टा तान्न होइन, सहयोग गर्न आउँछु ।”

तर, वामदेवको रोदनपूर्ण आग्रहलाई ओलीले भने खिसिट्यूरीमा उडाइदिए । उनले उनकै अभियान सफल होस् भन्ने शुभकामना मात्रै दिए ।

वामेदवलाई जवाफ दिँदै ओलीले भने, “वामदेव कमरेडले उठाउनुभएको कुरा छलफल गर्ने थलो यो होइन, पछि हामी त्यसबारेमा छलफल गर्न सक्छौँ, वामदेवजीको एकताको भावना त्यो सकारात्मक छ, महाअभियान सफल होस् । शुभकामना ।”

ओलीले खुला प्रस्ताव राख्दा पनि पूर्ण वेवास्ता गरेपछि गौतम निकै दुःखीत बने । कार्यक्रम हलबाट बाहिर निस्किएका गौतमले ‘स्वागत गर्नुभएन’ भन्दै प्रतिक्रिया दिए ।

“माधवलाई तपाईँको पार्टीमा ल्याउनुस् भने, उहाँ डराउनु भयो, ओलीलाई म एमालेमा आउन चाहन्छु भनेँ, सबैको अगाडि भने, तर स्वागत गर्नुभएन, मैँले आश गरेको थिएँ”, गुनासोपूर्ण शैलीमा गौतमले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट