माधवका अप्ठ्यारा : न ओली–प्रचण्डसँगै रहन चाहन्छन्, न छुट्टिन सक्छन्-Sutra News

माधवका अप्ठ्यारा : न ओली–प्रचण्डसँगै रहन चाहन्छन्, न छुट्टिन सक्छन्

आइतबार, ६ जेष्ठ २०८१

आइतबार, ६ जेष्ठ २०८१

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्ता समीकरणमा सँगै छ । तर, सत्ता समीकरणको एउटा हिस्सेदार एकीकृत समाजवादीलाई सँगै रहन निकै उकुसमुकुस बनिरहेको छ । जुन उकुसमुकुसलाई बेला बखत पार्टी अध्यक्ष नेपालले सार्वजनिकरुपमा व्यक्त गरिरहन्छ ।



शनिबार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष नेपालले सत्ताभित्रको उकुसमुकुस मिलाइ–मिलाइ पोखे । उनले आफू सत्ता खेलभित्र ‘तमासे’ बनेको भन्दै दुखेसो व्यक्त गरे ।

“हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ, राष्ट्रिय राजनीतिमा उहाँभन्दा बढी बिजी कोही पनि छँदै छैन होला, हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो”, कार्यक्रमलाई सम्बोधनको क्रममा अध्यक्ष नेपालले भनेका छन्, “हामी यी सबै घटनालाई नियालिरहेका छौं, अवलोकन गरिरहेका छौं ।”

कार्यक्रममा अध्यक्ष नेपालले निकै असहजतापूर्वक आफ्नो भनाइ राखिरहेका रहेका थिए । उनको अभिव्यक्तिलाई हेर्दा, उनी निकै अप्ठ्यारोसहित सत्ता समीकरणमा सँगै छन् भन्ने बुझ्न सकिन्छ ।

हुन पनि एकीकृत समाजवादीभित्र सत्ता समीकरणमा रहने वा नरहने भन्नेमा दुई कित्ता छ । बहुमतभन्दा बढी सदस्य वर्तमान सत्ता समीकरणमा सँगै रहनुपर्छ भन्दा अध्यक्ष नेपालसहितको समूह लतारिन बाध्य देखिन्छ ।

हालै, बसेको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकमा सत्ता समीकरणमा रहने वा नरहने भन्ने कोणबाट व्यापक छलफल भएको थियो । स्वयम् अध्यक्ष नेपालले वर्तमान सत्ता समीकरण आफूहरुका लागि अनुकुल नभएको बताएका थिए । उनले आफ्नो प्रतिवेदनमै ‘छिट्टै वर्तमान सत्ता समीकरण परिवर्तन हुनसक्ने’ बताएका थिए ।

अध्यक्ष नेपालको भनाइ नै वर्तमान सत्ता समीकरणलाई परिवर्तन गर्नुपर्छ भन्ने कोणबाट आएको देखिन्छ । तर, उनी बहुमत समूहको विपरित निर्णयमा पुग्न सकेनन् ।

वर्तमान सत्ता समीकरणलाई सम्मानित नेता झलनाथ खनालले अनुकुल देखिरहेका छन् । उनले वर्तमान सत्ता समीकरणबाट बाहिर जान नहुने निष्कर्ष पार्टी बैठकमा सुनाएका थिए । उनको पक्षमा बहुमत सदस्य उभिएको छ । जसको प्रतिफल अध्यक्ष नेपाल आफ्नो इच्छा विपरित नै लतारिन बाध्य छन् ।

अर्कोतिर सत्ताका मुख्य साझेदार दलहरुले एकीकृत समाजवादीलाई त्यति धेरै महत्व दिइरहेका छैनन् । विशेषगरी सहकारी प्रकरणपछि मुख्य तीन दल माओवादी केन्द्र, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरु पटक–पटक छलफलमा जुटिरहँदा एकीकृत समाजवादीलाई वास्ता गरिएको छैन ।

तीन दलका शीर्ष नेताहरुबीच भएका पटक–पटक छलफलमा एकीकृत समाजवादी सहभागि छैन । एकीकृत समाजवादीसँग अहिलेका राजनीतिक इश्यूबारे साझेदारले कुनै पनि छलफल गरेका छैनन् ।

कुनै बेला सत्ता खेलमा मुख्य निर्णायक शक्तिको रुपमा देखिएको एकीकृत समाजवादी एकातिर पार्टीभित्रको विभाजित अवस्थाले कमजोर बनेको छ भने अर्कोतिर उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै महत्वहिन बनेको छ ।

जसपा नेपालको विभाजनअघि अध्यक्ष नेपाल पक्षले खुलारुपमै वर्तमान सत्ता समीकरण ढालिदिने चेतावनी दिइरहेको थियो । तर, जसपा नेपालको विभाजनसँगै आफ्नै फुट्नसक्ने त्रास एकीकृत समाजवादीभित्र देखिन्छ । यस्तो बिडम्बनापूर्ण अवस्थामा पार्टी अध्यक्षको भूमिकामा रहेका नेपाल दुखेसो पोखिरहन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट