चुनावको बेला ‘पार्टी एकता भइहाल्छ’ भन्ने बाबुराम किन टाढिए प्रचण्डसँग ?-Sutra News

चुनावको बेला ‘पार्टी एकता भइहाल्छ’ भन्ने बाबुराम किन टाढिए प्रचण्डसँग ?

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । २०७९ मंसिरमा भएको आम निर्वाचनको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई एक ठाउँमा देखिएका थिए । औपचारिकरुपमा सम्बन्ध तोडेको आठ वर्षपछि चुनावी समयमा सहकार्यमा जोडिएका प्रचण्ड र बाबुरामको बीचमा पार्टी एकताकै तहमा सम्बन्ध बनेको अड्कल पनि धेरैले लगाएका थिए ।



हुन पनि पार्टी विभाजनपछि पहिलो पटक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुग्दा बाबुरामले एकताको दिशामा अघि बढिसकेको भन्ने जवाफ सञ्चारकर्मीलाई दिएका थिए । “जुन ढंगको अग्रगामी परिवर्तनको एजेण्डा बाँकी छन्, त्यसलाई पूरा गर्न हामी सबैले एक्लाएक्लै भन्दा मिलेर नयाँ ढंले नयाँ आधारमा एकतावद्ध भएर जानु मुलुकको ऐतिहासिक आवश्यकता हो, त्यो दिशातिर हामी जान्छौं”, उत्साहित मुद्रामा बाबुरामले भनेका थिए ।

पार्टी एकतासम्मको छलफलपछि गोरखा–२ मा बाबुरामले प्रचण्डका लागि चुनावी क्षेत्र छाडिदिएका थिए । उनी प्रचण्डलाई जिताउनकै निम्ति गोरखा–२ को चुनावी अभियानमा पनि कस्सिएर लागेका थिए ।

तर, चुनावी नतिजासँगै भने प्रचण्ड–बाबुरामबीच फेरि दुरी बढ्यो । पार्टी एकताको लागि भइरहेको छलफलहरु समेत रोकिने स्थिति बने ।

अहिले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकताको त प्रयास हुँदैछ तर, बाबुराम सहभागि छैनन् । नेसपाका दोस्रो तहका नेताहरु र बाबुरामकै निकट मानिनेहरु माओवादी केन्द्रसँग एकताको तयारीमा छन् ।

हालै लामो समयदेखि बाबुरामको विश्वासपात्रको भूमिकामा रहेका काम गरेका विश्वदीप पाण्डे पनि माओवादी केन्द्र फर्किएका छन् ।

तर, दोस्रो तहका नेताहरु एकताको निम्ति लागिरहँदा बाबुराम भने प्रचण्डविरुद्ध सार्वजनिकरुपमै खनिन थालेका छन् । उनले प्रचण्ड बेइमान र धोकेबाज भएको भन्दै आलोचना गरिरहेका छन् । बाबुरामले आफूले चुनावको बेला माओवादीसँग सहकार्य गर्नु र प्रचण्डका निम्ति गोरखा २ छाड्नु गम्भीर गल्ती भएको पनि बताउन थालेका छन् ।

“मासिक जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा-२ बाट उम्मेगवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनु भएको छ”, भट्टराइले पछिल्लो विकसित राजनीतिक घटनाबारे सामाजिक सञ्जालमार्फत भनेका छन्, “प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गैरहेको सन्दर्भमा गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टी र मसंग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन, मैले असल मनशायले गरेको निर्णयले आम जनता र पार्टीका साथीहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु !”

राजनीतिक जीवनका करिब २५ वर्ष सँगै बिताएका प्रचण्ड–बाबुरामका बाहिर आएका धेरै अन्तररंग विषय अस्पष्ट छन् । यद्यपि, चुनावी सहकार्य पछि हुन नसकेको सहकार्यलाई हेर्दा सत्ता र व्यक्तिगत स्वार्थ बाझिएको देखिन्छ ।

गोरखा–२ मा प्रचण्ड अत्याधिक मतसहित विजयी हुँदा काठमाडौं–७ मा बाबुराम पुत्री मानुषी यामी नराम्रोसँग पराजित भइन् । जुन नतिजापछि प्रचण्डप्रति बाबुराम तिव्र असन्तुष्ट बनेको देखिन्छ ।

पार्टी एकताको सन्दर्भलाई लिएर भइरहेको छलफलमा पदीय भागवण्डा हाबी हुँदा दुईबीच दुरी बढेको विषयलाई अन्यथा मान्न मिल्दैन । हालै नेसपाभित्र आन्तरिक विवाद चलिरहेकै बेला नेसपाका अर्का अध्यक्ष महेन्द्रराय यादवले राष्ट्रपति र उपराष्ट्र पद नपाएपछि बाबुरामले पार्टी एकता गर्न नमानेको बताएका छन् । आफ्ना लागि मागिएका पद नपाएपछि बाबुराम प्रचण्डविरुद्ध उभिएको पनि यादवको भनाई छ ।

यादवले गरेका दाबी कति सही छन्, आफ्नो ठाउँमा छ । तर, प्रचण्डसँग बाबुरामको दुरी स्वार्थप्रेरित शैलीमै बढेकोलाई अन्यथा मान्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट