एमाले नेता काठमाडौं हिँडेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक स्थगित-Sutra News

एमाले नेता काठमाडौं हिँडेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक स्थगित

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाएको आजको प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।



अपराह्न ५ः३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

यसअघि शुक्रबार अपराह्न ५ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची थियो ।

सत्ता साझेदार नेकपा (एमाले)ले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नु पर्ने अडान राखेपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने/नपाउनेमा अझै स्पष्ट हुन सकेको छैन ।

आज बस्ने प्रदेशसभाको बैठकबारे सबै प्रदेशसभा सदस्यलाई प्रदेशसभा सचिवालयले सूचना गरे पनि एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल काठमाडौं आएको जानकारी दिए । एमाले अनुपस्थित भएपछि शुक्रबारको बैठक स्थगन गरिएको थियो ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले बिहीबार बिहानसम्म एमालले मुख्यमन्त्रीलाई विश्वासको मत दिनेमा स्पष्ट देखिए पनि त्यसपछि विश्वासको मतका बारेमा धारणा बदलेको बताए ।

उनले भने, “एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल आज काठमाडौं जानु भएको भन्ने सुनिएको छ, उहाँ फर्किएर आएपछि विश्वासको मत दिनुहुन्छ होला, यही समीकरण अगाडि बढ्छ ।”

सोडारीलाई असंवैधानिक ढंगले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकीर गर्दै नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको छ ।

सोडारी नेतृत्वको सरकारमा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर दुई प्रदेशसभा सदस्य मन्त्री बनेका छन् । नाउपा अध्यक्ष रञ्जिता अहिलेकै सत्ता गठबन्धनलाई सहयोग गर्नु पर्ने पक्षमा र संस्थापक संरक्षक रेशमलाल चौधरी कांग्रेससहितको गठबन्धनको पक्षमा छन् ।

एमाले, माओवादी केन्द्र, नाउपाका दुई सदस्य, स्वतन्त्र सदस्य डा. तारा जोशीको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सोडारी मुख्यमन्त्री बन्ने क्रममा एमालेले अस्वीकार गर्दै आएको थियो । पछि उनलाई कांग्रेसले साथ दिने भएपछि सोडारी एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका थिए । अहिले विश्वासको मत लिने क्रममा अवरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट