एसमा झलनाथ हाबी, माधव पूर्ण रक्षात्मक-Sutra News

एसमा झलनाथ हाबी, माधव पूर्ण रक्षात्मक

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएसँगै त्यसको सबैभन्दा ठूलो प्रभाव नेकपा (एकीकृत समाजवादी)मा पर्‍यो । राजनीतिक वृत्तमा पनि एकीकृत समाजवादी फुट्दै गरेको चर्चा चल्यो ।



हुन पनि सत्ता समीकरणलाई लिएर एकीकृत समाजवादीभित्र प्रष्टरुपमा दुई धार देखिएको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपाल वर्तमान सत्ता समीकरणको विपक्षमा थिए भने सम्मानित नेता झलनाथ खनाल पक्षमा उभिएका थिए । सार्वजनिकरुपमै दुई नेताका अभिव्यक्ति पनि भिन्न–भिन्न शैलीमा बाहिर आएका थिए ।

विभाजनको चर्चाले तरंगित बनेको एकीकृत समाजवादी लगत्तै केन्द्रीय समिति बैठक डाकेर छलफलमा जुट्यो । जहाँ सत्ता समीकरणदेखि विविध विषयमा छलफल भए । जेठ १ र २ गते बसेको केन्द्रीय समिति बैठकले देखाउँदा १८ बुँदे प्रस्ताव पारित गरेको छ तर, मूलतः विभाजनको डिलमा पुगेको पार्टीलाई जोगाएको छ ।

बैठकको निर्णय सुनाउँदा नै अध्यक्ष नेपालले पार्टी एकताबद्ध भएको बताएका थिए । “बाहिर धेरै चर्चा आएपछि हामी पनि आत्तियौं, आत्तिएर बैठक बस्यौं, सबैबीचमा छलफल भयो, एकताबद्ध भएर अगाडि जाने निर्णय गरेका छौं”, बैठकका निर्णय सुनाउने क्रममा अध्यक्ष नेपालले भनेका छन् ।

बैठकले मूलतः दुई वटा निर्णय गरेको देखिन्छ । जसमा वर्तमान सत्ता समीकरणकै पक्षमा उभिने र समाजवादी मोर्चालाई अगाडि बढाउने । एकीकृत समाजवादीले प्रदेश तहमा पनि केन्द्रको सत्ता समीकरण जता उभिन्छ, उतै उभिने निर्णय लिएको छ । एकीकृत समाजवादीको निर्णयसँगै तत्कालका लागि मधेश प्रदेशको सत्तामा देखिएको अन्योलता पनि कम भएको छ ।

यद्यपि, सत्ता समीकरणभित्र भिन्न देखाउन एकीकृत समाजवादीले औपचारिकरुपमै सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न छानबिन समिति गठन गनुपर्ने निर्णय गरेको छ । जसलाई सार्वजनिक निर्णयमै समावेश गरिएको पाइन्छ ।

निर्णयमा झलनाथ हाबी

पार्टी बैठकमा मूलतः चार वटा प्रतिवेदन प्रस्तुत भएका थिए । पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, महासचिव घनश्याम भुसाल र उपाध्यक्ष डा. बेदुराम भुसालले भिन्न–भिन्न प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमाथि सहभागिले आ–आफ्ना धारणा राखेका थिए ।

बैठकमा अध्यक्ष नेपालले राखेको प्रतिवेदनमै प्रष्टरुपमा वर्तमान सत्ता समीकरणको भविष्य नरहेको बताएका थिए । “यो समीकरण वर्तमान संसद्को संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो, यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक सहकार्य मात्र हो, त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ”, अध्यक्ष नेपालको प्रतिवेदनमा भनिएको छ ।

यद्यपि, बैठकको निर्णयमा पार्टी एकताबद्ध भयो मात्रै भनिएन, वर्तमान सत्ता समीकरण नै अहिलेको आवश्यकता भएको जिकिर गरियो । सम्मानित नेता खनाल हाबी हुँदा निर्णय बेग्लै आएको एकीकृत समाजवादीका एक नेता बताउँछन् । उनका अनुसार अध्यक्ष नेपाल प्रष्टरुपमा वर्तमान सत्ता समीकरणबाट बाहिरिने पक्षमा मात्रै थिएनन्, कांग्रेससँग बेग्लै समीकरण बनाउने पक्षमा थिए ।

“अध्यक्षले प्रष्टरुपमै यो समीकरणबाट अलग हुनुपर्छ भन्ने धारणा राख्नुभएको थियो तर, खनालले त्यस्तो सोंच्न नसकिने बताउनु भयो, धेरै नेताहरुको धारणा पनि खनालकै लाइनबाट आयो”, एक स्थायी समिति सदस्यले भनेका छन्, “निर्णय हुँदा अध्यक्ष नेपालका विषय समेटिएनन् ।”

वर्तमान सत्ता समीकरणले वाम सहकार्यको वातावरण बनाएको बुझाई सम्मानित नेता खनालको छ । जहाँ अध्यक्ष नेपालले भने आफूहरुलाई प्रयोग मात्रै गरिएको विषय राखेका थिए । विभिन्न समयमा भएका सम्झौता पालना नगरिएको सन्दर्भमा अध्यक्ष नेपालले राखेको असन्तुष्टिलाई पनि खनाल पक्षले अस्वीकार गरेको छ । खनाल पक्षले मिलेरै, सहमतिमै सहकार्य गरेर जानुपर्ने निष्कर्ष सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट