छाडा सामाजिक सञ्जाल ! -Sutra News

छाडा सामाजिक सञ्जाल ! 

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

प्रविधिले फड्को मारेको छ । सञ्चार प्रविधि अझ उन्नत हुँदै गएको छ । इन्टरनेटले सारा दुनियाँलाई एउटै मोबाइल र कम्प्युटरभित्र अटाइदियो । धेरै कुरा बोक्ने झन्झटबाट मानिसलाई मुक्ति दियो । घडी, रेडियो, क्यामेरा, टि.भि., क्याल्कुलेटर, डायरी, क्यासेट प्लेयर, रेकर्डर, लोकेसन म्याप, कलम जस्ता सामग्री मोबाइल/कम्प्युटरभित्रै राखिदियो । क्षण भरमा संसारको यात्रा गर्न सघायो । जीवन साँच्चिकै सहज बनायो । टाढा रहेका आफन्तलाई हर क्षण आम्ने साम्ने बनाई दियो । 



इन्टरनेटमार्फत मोबाइल/कम्प्युटरमा सूचनाको पहुँच विस्तार, मनोरञ्जन, खेल, नयाँ सिर्जना, व्यापार–व्यवसाय, भुक्तानी प्रणाली आदिलाई सहज बनायो । हुलाक युगलाई अन्त गरिदियो । हर कुरामा नयाँपन ल्याइदियो । क्षमता देखाउन सक्नेलाई प्लेट फर्म भयो । तर, एउटा वर्गका मानिसको मनलाई चाहिँ सुधार गर्न सकेन । प्रविधिको दुरुपयोग गर्छन् । 

खासगरी सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, टि्वटर जस्ता प्रविधिका उपहार हुन् । बुझे र खोजे संसार छ । उपयोग गरे फाइदै फाइदा छ । तर, एउटा तप्कामा नकारात्मकता छ । अश्लिलता छ । गलत प्रचार प्रसार छ । सदुपयोगभन्दा दुरुपयोग बढी छ । फेक आईडी बनाई बयस्क मानिसले समेत गलत प्रयोग गर्छन् । बौद्धिक वर्ग सामाजिक सञ्जाल प्रयोग गर्न हच्किन्छन् । 

राजनीतिक प्रणाली गलत होला ! नेता गलत होलान् ! वा कुनै पात्र गलत होलान्/नहोलान तर, सामाजिक सञ्जालमा लक्षित भाषा, शब्द, मनोवृत्ति, कमेन्ट, स्टाटसको अध्ययन गर्दा पात्र र प्रवृत्तिहरू छाडा छन् । संयमता गुमाएको देखिन्छ । सार्वजनिक मानिसलाई बेइज्जत गरिएको छ । महिलाका विषयलाई अतिरन्जित गरिएको छ । सकारात्मक पक्षको चर्चामा कन्जुस्याइँ छ । नकारात्मकता छ । गाली, असभ्य भाषा र अश्लिलता बढी छ । 

समाजशास्त्रीय पाटो

समाजको सामाजिक परिवेश, घर परिवार, साथी–संगत र वातावरणको प्रतिरूप सामाजिक सञ्जाल हो । यसले व्यक्तिको सिकाइको अवस्था देखाउँछ । जीवनका गतिविधि प्रस्तुत गर्छ । व्यक्तिको ‘केस स्टडी’ गर्न सामाजिक सञ्जाल प्रोफाइल खोतल्दा धेरै सूचना पाइछ । एक हिसाबले व्यक्तिको परिचय खुल्छ । 

मनोवैज्ञानिक पाटो

मानिसको चेतन/अचेतन मनभित्र खुसी, दुःख, कुण्ठा, पीडा हीनताबोध हुन्छन् । त्यसको प्रतिबिम्ब सामाजिक सञ्जाल हो । व्यक्तिहरू मनोदशाले ग्रसित हुन्छन् । कतिपयलाई जीवनसँग आत्मग्लानि हुन्छ । त्यसको प्रतिक्रिया स्वरूप व्यक्तिले सामाजिक सञ्जालमा नकारात्मकता, छाडापन, आक्रमकता र अश्लिलता प्रस्तुत गर्दछन् । व्यक्तिको मनमा धेरै कुरा गुम्सेका हुन्छन् । राख्ने ठाउँ पाएको हुँदैन । सामाजिक सञ्जाल उपयुक्त ठाउँ हो भन्ने ठान्छन् । जे मनमा लुकेको थियो त्यही प्रस्तुत गर्छन् । आफूलाई कसैले भेट्दैन, देख्दैन भन्ने लागेको हुन्छ । जे सामाजिक सञ्जालमा व्यक्त गर्छ, त्यो नै उसको वास्तविक जीवन हो । अरू सबै बनावटी हुन् । 

व्यक्तिको सोच, प्रवृत्ति र भोगाईको प्रतिविम्ब हो; सामाजिक सञ्जाल । सञ्जाल प्रयोगकर्ताको चरित्र, सामाजिक परिवेश, सिकाई, रोजगारीको अवस्था, जीवन प्रतिको सन्तुष्टि/असन्तुष्टिको चित्रण गर्छ । व्यक्तिको मनोदशा देखाउँछ । एक हिसाबले व्यक्ति र समाजको ऐना हो सामाजिक सञ्जाल ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट