फिल्ममा साहित्य कमजोर छ- निर्देशक सुब्बा-Sutra News

फिल्ममा साहित्य कमजोर छ- निर्देशक सुब्बा

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । कवि तथा साहित्यकार उपेन्द्र सुब्बाले नेपाली फिल्ममा ‘कबड्डी’ शृङ्खलामार्फत लेखनमा सहकार्य गरेका छन् । निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार हुने हरेक चलचित्रमा उनले लेखनमा सहकार्यका साथै छायाङ्कनमा समेत सहभागी हुने भएका हुन् ।



लेखक भएका कारण उनले शब्दमा लेखिएको कथालाई दृश्यमा उतार्ने अभ्यासलाई नजिकबाट नियालेका थिए । फलतः लिम्बू समुदायको कथा भन्ने निर्णयपछि उनीले आफैँ म निर्देशन गर्छु भने ।

“मलाई जारीको कथा पर्दामा उतार्न मन थियो । किनकि म त्यसलाई मायाको भावमा व्यक्त गर्न चाहन्थे । सोही कारण म निर्देशक बनेँ । पहिलो फिल्मको कमजोरीलाई दोस्रोमा सुधार्ने प्रयास गरेको छु”, निर्देशक सुब्बाले भने ।

उनी निर्देशित ‘जारी’ले १७ करोडको व्यापार घरेलु बजारमा गरेको छ । त्यसपछि उनी स्थापित निर्देशक बने । दोस्रो फिल्मका रुपमा उनले ‘मनसरा’ तयार गरेका छन् ।

यसपटक उनले आत्मनिर्भर महिलाको सङ्घर्ष र जीवनीलाई प्रस्तुत गरेका छन् । “मनसरा एक प्रकारको धान हो । यसलाई अन्य जातका बीउसँग मिसाएर रोप्नुपर्छ । यद्यपि फल्दा स्वतन्त्र भएर छुट्टै फल्छ । यसलाई नै आधार बनाएर फिल्मको कथा तयार गरेँ”, निर्देशक सुब्बाले भने ।

कोरोना महामारीका कारण भएको बन्दाबन्दीमा उनी आफू बस्ने आसपास घुमघाम गरे । नखिपोट भन्दा माथि पुगेपछि त्यहाँ देखिएको मिश्रित बस्तीले उनलाई कथाको आइडिया दिए ।

“साहित्यको आँखाले फिल्म कमजोर नै छ । समाजको कथा व्यक्त गर्ने शैली र पात्र निर्माणसँगै विम्ब निकै कम प्रयोग हुन्छ । यद्यपि थुप्रै साहित्यकारले फिल्म हेर्ने गरेका छन् । तसर्थ साहित्यमा फिल्मको प्रभाव छ, तर फिल्ममा साहित्य कमजोर छ”, निर्देशक सुब्बाले भने ।

फिल्ममा मिरुना मगर, दयाहाङ राई, प्रवीन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म वैशाखको तेस्रो साता प्रदर्शन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट