वैशाखमा प्रदर्शन भएका फिल्ममाथि ‘बोक्सीको घर’ भारी-Sutra News

वैशाखमा प्रदर्शन भएका फिल्ममाथि ‘बोक्सीको घर’ भारी

बुधबार, २ जेष्ठ २०८१

बुधबार, २ जेष्ठ २०८१

काठमाडौं । नेपाली बक्स अफिसमा यो वर्षको सुरुवात अर्थात् वैशाख महिनामा पाँच वटा फिल्म प्रदर्शन भएका छन् । जसमध्ये ‘डिग्री माइला’ र ‘रेड सुटकेस’ नयाँ वर्षलाई सन्दर्भ पारेर प्रदर्शन भएका थिए । त्यसपछि फिल्म ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो ।



‘बोक्सीको घर’पछि फिल्म ‘मनसरा’ प्रदर्शन भयो भने, वैशाख महिनाको अन्तिम सातातिर फिल्म ‘खजुरे ब्रो’ प्रदर्शन भएको थियो ।

यो वैशाख महिना केही फिल्मका लागि सुखद भएको छ भने अन्यलाई अनपेक्षित हुन पुगेको छ । पाँच वटा फिल्ममध्ये प्रदर्शन अगावैबाट ‘डिग्री माइला’ र ‘मनसरा’ले वर्षको सुरुवातसँगै सफलतातिर लाने अनुमानसहित उत्कृष्ट व्यापार गर्ने अपेक्षा गरिएको थियो ।

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले बक्स अफिसमा पाँच करोडमाथिको ग्रस कलेक्शन गरेको हिसाब यसको निर्माण पक्षले सार्वजनिक गरेको थियो । यो फिल्मले जुन अपेक्षामा व्यापार गर्नुपर्ने हो, त्यो भने गर्न सकेन । यसका निर्मातालाई फिल्मबाट घाटा भने भएन, उनीहरूले विदेशी बजार र डिजिटललगायत माध्यमबाट पनि लगानी लागेको खर्चमा अंक जोडेका छन् । तर, यी फिल्मले धेरै नाफा कमाउने आमजन अपेक्षा समेत रहेको थियो । त्यो भने हुन सकेन ।

फिल्म ‘डिग्री माइला’मा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ ट्यागलाइन बनाएको यो फिल्म बाँसुरी फिल्मसले कबड्डी फिल्मस् तथा सुष्मा फिल्मससँग मिलेर निर्माण गरिएको हो ।

यस्तै, सोही दिन प्रदर्शनमा आएको अर्को फिल्म ‘द रेड सुटेकस’ले पनि अपेक्षित व्यापार गर्न सकेन । विश्वका चर्चित महोत्सवहरूमा छनोट भएको यो फिल्म क्यूएफएक्स चेन बाहेकका हलमा मात्रै प्रदर्शमा आएको थियो । यो फिल्मबाट निर्मातालाई केही हदसम्म घाटा लागेको छ । हुन त, यस फिल्मले विदेशबाट राम्रै पैसा कमाएकाले निर्माताले गरेको लगानी खेर नजाने निश्चित छ । तर, नेपाली बक्स अफिसको हकमा भने फिल्म असफल रह्यो ।

आइस्फल प्रोडक्सन निर्माण गरेको फिल्ममा सौगात मल्ल, विपीन कार्की, प्रवीण खतिवडा, श्रृष्टी श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

यस्तै, वैशाख १४ गते प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ भने बक्स अफिसमा बम्पर व्यापार गर्याे। केकी अधिकारी निर्मित तथा अभिनित यस फिल्मले सबैलाई चकित त पार्याे नै व्यापारमा समेत उत्साहजनक खालको गर्यो ।

यो फिल्मले आजका दिनमा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । फिल्मले हालसम्म देशव्यापीरूपमा करिब आठ करोड ग्रस कमाइ गरेको बुझिएको छ तर, निर्माण पक्षले छ करोड ग्रस कलेक्शन व्यापार गरेको आँकडा सार्वजनिक गरेपछि अन्य व्यापारिक जानकारी गराएको छैन ।

यसपछि प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ले बक्स अफिसमा अपेक्षाकृत व्यापार गर्न सकेन । ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको दोस्रो फिल्म रहेकाले प्रदर्शनपूर्व पहिलो फिल्मको आँकडा नघाउने प्रक्षेपण गरिएको थियो ।

फिल्मले बक्स अफिसमा अपेक्षित व्यापार नगरेको भएतापनि निर्मातालाई निराश भने बनाएको छैन । फिल्मको व्यापार सुखदै देखिएको छ । फिल्म हालसम्म पनि प्रदर्शन भइरहेको छ । यस फिल्मको निर्माण पक्षले पहिलो सातामा तीन करोड ३० लाख कमाएको दाबी छ । फिल्मका निर्माताले लगानी सुरक्षित गरे तर, यी फिल्मले धेरै नाफा कमाउन भने सकेको छैन ।

यस फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । बैशाख अन्त्य तिर प्रदर्शन भएको अर्को फिल्म ‘खजुरे ब्रो’ भने बक्स अफिसमा असफल भएको छ । यो फिल्मबाट निर्मातालाई ठूलो घाटा लाग्ने देखिएको छ । यसबाट निर्माताको लगानीको अधिकांश हिस्सा डुबेको छ ।

समग्रमा वैशाख महिनामा चलेका फिल्महरूमध्येमा ‘बोक्सीको घर’ सबैरूपमा सफल बन्याे । व्यापारिकरूपमा राम्राे नाफा कमाएकाे कारण अन्य फिल्मकाे तुलनामा तारिफ पनि बटुल्याे । यस हिसाबले अन्य चार फिल्ममा याे भारी पर्न पुग्याे ।

अब, जेठ महिनामा पनि प्रतीक्षित फिल्महरू प्रदर्शन हुने तयारीमा रहेका छन् । जसमा पाँच वटा फिल्म प्रदर्शन हुने पक्का भइसकेको छ । यसैले, वैशाख जस्तै जेठ महिना पनि नेपाली फिल्मका लागि सुखद हुने अपेक्षा गर्न सकिन्छ ।

जेठ महिनाको सुरुवातमा १० गते ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शन हुँदैछन् । यी दुबै फिल्म बक्स अफिसका लागि महत्वपूर्णरूपमा हेरिएको छ ।

यस्तै, जेठको २५ गते दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’ले प्रदर्शन मिति तय गरिसकेका छन् । जसमध्य फिल्म ‘गाउँ आएको बाटो’ विभिन्न फिल्म महोत्सवमा सहभागी भइसकेको छ । यता, जेठको अन्तिम ३२ गतेलाई फिल्म ‘बाटो’ले प्रदर्शन मिति तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट