काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले दुई केजी ६५४ ग्राम अवैध लागू औषध कोकिनसहित तीन जना विदेशी महिलालाई पक्राउ गरेको छ ।
ब्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सात करोड ९६ लाख रुपैयाँ बराबरको कोकिनसहित दुई जना युगाण्डा र एक जना भारतीय महिलालाई सार्वजनिक गरेको हो । गत ३० गते युगाण्डाकी नागरिक केभिना मुगालालाई पक्राउ गरी तलासी गर्दा पेटभित्र केही वस्तु हुन सक्ने भन्दै स्वास्थ्य परीक्षण गर्न अस्पताल पठाइएको थियो ।
यस क्रममा उनले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजंगञ्जमा उपचार पद्दतीबाट निकालिएको प्रहरीले जनाएको छ । उक्त क्याप्सुलको तौल एक किलो २६० ग्राम रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।
यस्तै, यही जेठ २ गते ठमेल धोबीचौरस्थित एक होटलमा शंकास्पद रुपमा बसेकी युगाण्डाकी लिल्यिान सुसानको सुटकेशमा लुकाई राखेको अवस्थामा ६३ वटा कोकिनका क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । उक्त कोकिन लिन जाने भारतीय नागरिक डेजवानी पाललाई पनि सोही होटलबाट पक्राउ गरिएको थियो ।