काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा सोडारी विश्वासको मत माग्दै राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
सोडारीको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा शून्य मत खसेको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।
सोडारीलाई एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले मत दिएका छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसदको मत आवश्यक पर्दछ । सोडारीले पाएको मत बहुमत हो ।
सोडारीले विश्वासको मत लिइरहँदा प्रदेशसभा बैठकलाई नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले भने बहिस्कार गरेको थियो ।
कांग्रेस र रेशम पक्षीय नाउपाका सांसदहरुले नाराबाजी गरिरहेकै बखत सभामुखले मत विभाजन सुरु गरेका थिए । मत विभाजनलाई असंवैधानिक भन्दै कांग्रेस र रेशम पक्षीय सांसदले बहिस्कार गरेका हुन् ।