तीन महिनाभित्रै पनिकाले परीक्षाको नतिजा दिन सक्छ ?-Sutra News

तीन महिनाभित्रै पनिकाले परीक्षाको नतिजा दिन सक्छ ?

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०

परीक्षाको नतिजा समयमा दिन नसकेर आलोचित परीक्षा नियन्त्रण कार्यालय, बल्खुले समयमा नतिजा निकाल्न सक्छ ? यो सम्भव छ ? यो आलेखमा त्रि.वि.का अरु समस्या र चुनौतीलाई बिर्सेर नतिजाको कुरा मात्र उल्लेख गरिएको छ।



नवनियुक्त उपकुलपति केशरजंग बरालले आफ्नो सोच पत्रमा छिटो परीक्षाको नतिजा दिने उल्लेख गरेका छन् । स्नातक तहको परीक्षाफल प्रकाशन हुन १८ महिनासम्म लागेको इतिहास छ ।

यस्तोमा के साँच्चिकै नतिजा छिटो निकाल्न नसकिने हो त ? कदापी होइन । तिन महिनाभित्रै नतिजा निकाल्न सकिन्छ । तर, के गर्नु पर्छ त छिटो नतिजा निकाल्न ?

पहिलो कुरा त्रिभुवन विश्वविद्यालयको भीमकाय स्वरुप र संरचना छ । त्यसलाई यथाशक्य छिटो पुनर्संरचना गर्नुपर्छ। पुनर्संरचना गर्न समय लाग्ला । त्यसबेलासम्म नतिजा ननिकाल्ने त ? त्यो पनि होइन । नतिजा छिटो गर्ने केही उपाय छन् । त्यसका लागि केही प्रशासनिक केही नीतिगत निर्णय गर्नुपर्छ ।

१) सहजताको लागि अहिलेको प्रदेशलाई आधार मानेर परीक्षार्थीका कपी सोही क्षेत्रमा प्याकिङ, कोडिङ र सूचीकृत गरी अर्को प्रदेशमा परीक्षण गर्न पठाउनु पर्छ । 

२) कपी परीक्षणको तरिका परिवर्तन गर्नुपर्छ । घरमा परीक्षण गर्न दिने प्रणालीलाई परिवर्तन गरी एउटा निश्चित केन्द्रमा परीक्षण गराउने चाँजो पाँजो मिलाउनु पर्छ । जुन गार्हो काम होइन । गराउन सकिन्छ ।

३) गोपनियताका लागि विद्यार्थीको उत्तर पुस्तिकामा परीक्षा केन्द्रको नाम उल्लेख नगरी परीक्षा केन्द्र नम्बर उल्लेख गर्ने व्यवस्था तत्काल मिलाउनुपर्छ ।

४) कोडिङ गरेका कपीलाई विश्वसनीय हुनेगरी अर्को प्रदेशको कपी परीक्षण केन्द्रमा पठाई परिक्षण गरेर छिटोभन्दा छिटो पनिका बल्खुमा पठाउनु पर्छ।

५) पनिका बल्खुमा नम्बर इन्ट्री गर्ने एउटा कम्युप्टर प्राविधिकको टिम बनाउनु पर्छ । बल्खुमा नवजवान र फुर्तिला कर्मचारी सरुवा गर्नुपर्छ ।

६) परीक्षा लिने र कपी ओहोर दोहोर गराउने प्रणाली तत्काल बन्द गर्नुपर्छ । सबैभन्दा ढिलो यसैमा भएको हो ।

७) वास्तवमा सम्परीक्षण र नम्बर इन्ट्री पनि सम्बन्धित क्षेत्रीय वा प्रदेश कार्यालयबाट गर्न सकिन्छ । होइन गोपनियतामा समस्या आउने ठानिएमा पनिका बल्खुमा नै ती काम गर्न सकिन्छ ।

८) डीन कार्यालयहरुमा सेमेष्टर प्रणालीका परीक्षा भद्रगोल तरिकाले चलेका छ्न्तिनिहरुलाई पनि पनिका बल्खुमा समाहित गर्नुपर्छ । परीक्षाका क्षेत्रीय वा प्रादेशिक कार्यालय बाहेक उपत्यकामा एक मात्र कार्यालय परीक्षा नियन्त्रण कार्यालय बनाउनु पर्छ । छरिएका स्रोत साधन र जनशक्ति एकत्रित गर्नुपर्छ। 

९) यी सबै काम गर्न सम्भव छ। त्यसका लागि केही नीतिगत र प्रणालीगत व्यवधान हटाउनुपर्छ ।

१०) विश्वविद्यालय पुनर्संरचना भएपछि सबै प्रणाली चुस्त दुरुस्त हुनेछ । सानो र व्यवस्थित विश्वविद्यालयलाई परीक्षा प्रणाली भारी पक्कै हुने छैन ।

११) काम गर्ने शिक्षक/कर्मचारीलाई उत्प्रेरित गर्नुपर्छ । केन्द्रमा बसेर कपी परीक्षण गर्दा प्रति कपी कम्तिमा रु १०० दिने व्यवस्था मिलाउनु पर्छ । सम्परीक्षणको पनि मूल्य बढाउनु पर्छ । यसले  कपी परीक्षण र सम्परीक्षणकाे काममा शिक्षकलाई उत्प्रेरित गराउँछ । त्यसैगरी परीक्षामा काम गर्ने कर्मचारीलाई खाईपाई आएको तलबमा ५० देखि ७५ प्रतिशतसम्म भत्ताको व्यवस्था गर्नुपर्छ। यसले काम गर्ने वातावरण तयार हुन्छ । 

यसो गर्न सकेमा सबै तहको परीक्षाको नतिजा तीन महिना वा सोभन्दा अगाडि दिन सकिन्छ। यी सबै कुरा सम्भव छ। मात्रै कार्य प्रणाली परिवर्तन गर्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट