इलाम २ मा सकियो मतदान, आजै मतगणनाको तयारी हुँदै-Sutra News

इलाम २ मा सकियो मतदान, आजै मतगणनाको तयारी हुँदै

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । इलाम २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।



मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ५७ प्रतिशत मत खसेको प्रजिअ यादवले जानकारी दिए ।

अहिले मत पेटिका गणना स्थलमा आउन सुरु भइसकेको छ । सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको उनको भनाइ थियो । यहाँ एक लाख १५ हजार ८८९ मतादाता थिए । विं.सं. २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो ।

मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट आज साँझदेखि मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुनेछ । सबै क्षेत्रबाट राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रजिअ यादवले बताए ।

मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि राजनीतिक दल तथा उम्मेदवार सर्वपक्षीय सहमतिपछि मतगणना प्रारम्भ गरिने छ । “राति १० बजेभित्र मतपेटिका सङ्कलन गरिसक्ने योजना बनाएका छौँ, मतपेटिका सङ्कलन गरिसकेपछि सर्वपक्षीय बैठक बस्छौँ,” उनले भने, “सो बैठकमा सहमति भएमा तत्काल मतगणना पनि सुरु गर्नेछौँ ।”

०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलाम २ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

यो क्षेत्रमा पहिचानवादी मुद्दा पेचिलो छ । पहिचानवादी पक्षका स्वतन्त्र उम्मेदवारसमेतको प्रतिस्पर्धाले चुनाव थप रोचक बनेको छ । इलामको उपनिर्वाचनलाई नेपाली राजनीतिका शीर्ष नेतृत्वले समेत प्रत्यक्ष चासो दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट