सत्ताको खेलले एक्लिएका उपेन्द्र !-Sutra News

सत्ताको खेलले एक्लिएका उपेन्द्र !

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडौं । सरकारको नेतृत्वमा उपेन्द्र यादव पाँचौँ वरियतामा मन्त्रीको हैसियतमा छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका उनी पटक–पटक मन्त्री बनेर सत्ताको स्वाद चाखेका छन् ।



जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका उपेन्द्रका लागि अहिलेको सत्ता यात्रा भने रोचक छ । वि.सं. २०७९ सालको आम निर्वाचनमा उनी जनमत पार्टी अध्यक्ष सिके राउतसँग लज्जास्पद हार व्यहोरे ।

निर्वाचनमा हार व्यहोरे पनि प्रतिनिधिसभामा उनी नेतृत्वको जसपा छटौँ ठूलो दल बन्न पुग्यो । यसको फाइदा उठाउँदै यादवले सत्ता सहयात्री दलको भूमिकामा बस्ने निर्णय गरे । तत्कालीन अवस्थामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहित गठबन्धनमा जसपा पनि मिसियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको साथ छाडेर नेपाली कांग्रेससँग गठबन्धन गरे । तर, उपेन्द्रको भूमिकामा कुनै फरक परेन ।

सत्तामा पुगेको पार्टी अध्यक्षको हैसियतमा सकसपूर्ण बनेका उपेन्द्रले लज्जास्पद हारलाई जितमा बदल्न सफल भए । उनले कांग्रेस–माओवादीको साथमा ०८० वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा संसदको ढोका खोल्न सफल भए । जनताले सत्ता बाहिर बस्न दिएको फैसलालाई वेवस्था गर्दै सांसद बनेका उनी पाँचौँ वरियताको उपप्रधानसहित मन्त्री नै बनिदिए ।

जुनसुकै अवस्थामा सत्ताभन्दा बाहिर बस्न नचाहने उपेन्द्रले आफ्नो पार्टीलाई भने लथालिङ्ग छाडेको देखिन्छ । जसले गर्दा उनको पार्टी पटक–पटक फुट्दै आएको छ ।

गत आइतबार मात्रै उपेन्द्र नेतृत्वको जसपा नेपाल विभाजित बन्यो । कूल १२ सांसद रहेको जसपाबाट अशोक राईले सात जना सांसद लिएर नयाँ पार्टी बनाए । अमेरिकाको शयरमा पुगेका उपेन्द्र स्वदेश फर्किंदासम्म जनता समाजवादी पार्टी (जसपा) जन्मिसकेको थियो । जुन उनकै नेतृत्वमा रहेका सांसदहरुले दर्ता गरेका थिए ।

नयाँ दल दर्ता गरेसँगै जसपाका नेता राजेन्द्र श्रेष्ठले सत्ताको स्थायित्व कायमै राख्नका लागि नयाँ पार्टी बनाउनु परेको बताएका थिए । उनले नेपाली राजनीतिमा नयाँ कोर्ष सुरु हुने दाबी गरे ।

नेता श्रेष्ठले भनेजस्तै नेपाली राजनीतिमा कुनै नयाँ कोर्ष सुरु हुन सकेको छैन । यता, अमेरिकाबाट स्वदेश फर्किएका उपेन्द्रले आफूहरु सत्तामै रहने बताए । तर, उनको सत्तामा बाग्रेनिङ पावर भने झिनो बनेको छ ।

जम्मा पाँच जना सांसद रहेका उपेन्द्रलाई सत्तामा बसिरहन सकस छ । सत्ता बाहिर बस्न पनि सकस देखिन्छ । सरकारमा एक्लो बनेका उनी मधेस प्रदेशको सत्ता टिकाउन मात्रै पदमा बसेका छन् ।

राजनीतिक जीवनको उत्तरार्धमा रहेका उपेन्द्र सरकारको मन्त्रिपरिषद्मा एक्ला बनेका छन् । तर, उनले एमाले र माओवादी केन्द्रलाई धम्की दिन भने भ्याइरहेका छन् । उनले यी दलका नेताहरुलाई आफू सुरक्षित छु भन्ने भ्रम नपाल्न सुझाएका छन् ।

“अब भ्रमबाट मुक्त हुनुस्, सिसाको घरमा बसेर अर्काको घरभित्र ढुंगा हान्नु हुँदैन, त्यो ढुंगा फर्केर कहिलेकाहीँ आफ्नै घर चकनाचुर पारिदिन्छ,” अमेरिकाबाट फर्केपछि पत्रकार सम्मेलनमा उनले भनेका छन् ।

सबैभन्दा ठूलो सत्तारुढ दल एमाले र प्रधानमन्त्री नेतृत्वको दल माओवादीमाथि धम्की दिन भ्याएका उपेन्द्रले आफूसँग एक पद मन्त्रीबाहेक केही नभएको बुझ्न सकेनन् । एक पद मन्त्रीको भरमा उनले कहिलेसम्म पाँच जना सांसदमाथि शक्तिको राजनीति वृक्षारोपण गर्छन् ? समयले देखाउने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट