काठमाडौं । एक्सन स्टार विराज भट्टले आफ्नो महत्त्वाकांक्षी होम प्रोडक्सन फिल्म ‘१२ गाउँ’ को छायांकन सुरु गरेका छन् ।
अभिनेता भट्टको स्वयंको निर्माण तथा निर्देशन रहने फिल्मको सोमबार ललितपुरको हात्तीबनमा शुभमुहर्त गर्दै छायांकन सुरु गरिएको हो ।
विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुने एक्सन-थ्रीलर जनरामा निर्माण गरिने यो फिल्मको छायांकन नेपाल र भारतमा हुने छ। पहिला नेपालको केही छायांकन सकेर निर्माणपक्ष भारतमा जानेछ। यो फिल्मको ७५ प्रतिशत छायांकन भारतमा हुने बुझिएको छ।
यो फिल्मको मुख्य कलाकार समीर भट्ट, न्यान्सी खड्का र सनिशा भट्टराईले क्यामेरामा पूजा गर्दै फिल्मको पहिलो दृश्यको सुटिङ सुरु गरेको निर्माण पक्षले जनाएको छ ।
भोजपुरी फिल्ममा बेग्लै स्थान बनाइसकेका विराजले यही फिल्मबाट आफ्ना छोरा समीरलाई डेब्यू गराएका छन्। उनले पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्कासँग जोडी बाध्नेछन् । न्यान्सीको पनि यो पहिलो डेब्यु फिल्म हो । समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य तथा द्वन्द्वको तालिम गरेका थिए ।
यस्तै, मोडल सनिशा भट्टराई पनि यो फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन् । फिल्ममा उनको जोडी विराजसँग हुनेछन् । सन्तोष सरकारको कथा तथा पटकथा रहेको फिल्ममा मुरलीधर, कालु राना, सन्तोष सरकार, शुलेमान शंकर ‘इकु’ लगायत पनि अभिनय रहने छ ।
विराजले यो फिल्मलाई अन्तर्रराष्ट्रिय स्तरमा लैजाने गरी उच्च स्तरीय एक्सन पस्किने तयारी गरेका छन्। फिल्म सन् २०२४ मा रिलिज हुने छ।