जसपा विभाजनको असर प्रचण्ड सरकारलाई कति ?-Sutra News

जसपा विभाजनको असर प्रचण्ड सरकारलाई कति ?

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ । वरिष्ठ नेता अशोक राई नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।



राईको पक्षमा १२ सांसदमध्ये ७ सांसद उभिएका छन् । पार्टी विभाजन गरी नयाँ पार्टीको पक्षमा राईसहित वीरेन्द्र महतो, प्रदीप यादव, नवलकिशोर सास (सुडी, सुशीला श्रेष्ठ, हसिना खातुन र रञ्जु ठाकुर छन् ।

जसपा विभाजित भएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको अवस्था के हुने भन्ने प्रश्न पनि उब्जिएको छ ।

सत्ता समीकरण परिवर्तनसँगै तेस्रो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ सांसदले मत दिएका थिए । हालको अवस्थामा सिंगो जसपाले मत नदिएपनि प्रधानमन्त्रीको पक्षमा बहुमत रहने देखिन्छ ।

विभाजित मध्ये कुनै पनि कित्ता प्रचण्ड सरकारको विरुद्धमा देखिएका छैनन् । यद्यपि, अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारबारे असन्तुष्टि पोखिरहेको छ । यस्तोमा राई पक्ष भने सरकारको बचाउमा देखिएको छ । यसलाई हेर्दा, यादव पक्ष सरकारको पक्षमा नउभिएमा पनि राई पक्ष उभिने देखिन्छ ।

यद्यपि, जसपाको विभाजनले सरकार नै नढलेपनि सत्ता गठबन्धनलाई भने कमजोर अवश्य बनाउन सक्छ ।

अहिले १० सांसद भएको एकीकृत समाजवादी पनि सरकार छाड्ने मनस्थितिमा छ । एकीकृत समाजवादीले मुख्य साझेदारसँगका केही समझदारी कार्यान्वयनलाई लिएर असन्तुष्टि जाहेर गरिरहेको छ । उसले कुनै पनि बेला सरकार छाड्न सक्ने बताइरहेको छ । यस्तोमा एकीकृत समाजवादीको पनि भूमिका निर्णायक हुने देखिन्छ ।

जसपा विभाजनले केन्द्रमा सामान्य प्रभाव पार्ने भएपनि प्रदेश तहमा भने ठूलो प्रभाव पार्न सक्छ । हाल मधेश प्रदेश सरकार जसपाकै नेतृत्वमा छ । लुम्बिनी प्रदेशमा पनि जसपाको महत्वपूर्ण मत छ । यस्तोमा प्रदेश सरकारहरु थप खल्लिबल्ली हुनसक्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट