अवैध प्रयोगका लागि लगिएका ९५ बालबालिकाको उद्धार-Sutra News

अवैध प्रयोगका लागि लगिएका ९५ बालबालिकाको उद्धार

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । भारतको उत्तरप्रदेश बाल आयोगले शुक्रबार बिहारबाट अवैध रूपमा उत्तरप्रदेश लगिएका ९५ बालबालिकाको उद्धार गरेको छ । यस घटनाले बाल बेचबिखन बारेको चिन्ता देखाएको छ ।



अयोध्या बाल कल्याण समिति (सिडब्ल्युसी)का अध्यक्ष सर्वेश अवस्थीले शुक्रबार उत्तरप्रदेश बाल आयोगकी सदस्य सुचित्रा चतुर्वेदीबाट घटनाको जानकारी पाएपछि सिडब्ल्युसीका सदस्यहरूले बच्चाहरूको उद्धार गरेको बताए ।

“बिहान नौ बजेतिर उत्तरप्रदेश बाल आयोगकी सदस्य सुचित्रा चतुर्वेदीले फोन गरेर बिहारबाट साना बच्चाहरूलाई अवैध रूपमा सहारनपुर लगिएको र उनीहरू गोरखपुरमा रहेको तथा अयोध्या हुँदै जान लागेको सूचना दिनु भएको थियो । हामीले उनीहरूको उद्धार गर्यौं, उनीहरूलाई खाना दियौँ र चिकित्सा सहयोग गर्यौं”, अवस्थीले भने ।

उनका अनुसार उद्धार गरिएका बालबालिका चारदेखि १२ वर्ष उमेर समूहका छन् । “बालबालिका ल्याउनेहरूसँग उनीहरूको आमाबुबासँगको कुनै सहमतिपत्र थिएन, ९५ बालबालिकाको उमेर चारदेखि १२ वर्षको बीच छ र उनीहरूमा अधिकांशले आफूलाई कहाँ लैजान खोजिएको हो भन्नेबारे केही थाहा नभएको बताएका छन्, आमाबुबासँग सम्पर्क गर्ने प्रयास भइरहेको छ र बालबालिकाहरू आइपुगेपछि आमाबाबुलाई सुम्पिइने छ”, अवस्थीले थपे ।

यसअघि बिहारका बालबालिकाको एक समूहलाई मदरसामा पठाउँदै गर्दा उत्तरप्रदेशको बाल आयोगले गोरखपुरबाट उद्धार गरेको थियो । राष्ट्रिय बाल अधिकार संरक्षण आयोगको आदेशमा राज्य बाल प्यानलले उनीहरूको उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट