कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त-Sutra News

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

विराटनगर । नेकपा (एमाले)को कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।



प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न गरेका हुन् ।

कार्कीको पक्षमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन रहेको छ ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका थिए ।

लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरिएको थियो । हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त भएको घोषणा गरेका हुन् ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीले बहुमत बढी सांसदको समर्थनसहित दाबी पेश गरेका थिए ।

मुख्यमन्त्रीमा नियुक्त कार्की यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । आम निर्वाचन २०७९ पुसमा पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सत्ता समीकरण फेरिएसँगै २०८० असारमा बहुमत गुमाएसँगै सरकारबाट बाहिरिएका थिए ।

पछि संवैधानिक व्यवस्थाअनुसार ठूलो दलको हैसियतमा २०८० भदौं २१ गतेदेखि असोज २० गतेसम्म दोस्रो पटक उनी मुख्यमन्त्री बनेका थिए । कार्कीको यो तेस्रो कार्यकाल हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट