रोहित पौडेलको शतकमा वेष्ट इण्डिज ‘ए’माथि नेपालको शानदार जित-Sutra News

रोहित पौडेलको शतकमा वेष्ट इण्डिज ‘ए’माथि नेपालको शानदार जित

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । आजदेखि सुरु भएको टी–२० शृङखलाको पहिलो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपाल चार विकेटले विजयी भएको छ । वेष्ट इण्डिज ‘ए’विरुद्ध नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।



कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिज ‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउदै २०४ रनको योगफल बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट भए ।

जम्मा २७ बलमा अर्धशतक पूरा गरेका रोहितले ४७ बलमा शतक हानेका थिए । उनको टी-० करिअरमा यो पहिलो शतक थियो ।

नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन चाहिँएको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश र गुलशनलाई एक–एक रन दिए । तेस्रो बलमा गुलशनले चौका हानेपछि ३ बलमा ३ रन चाहिएको थियो । अर्को बलमा चौका हान्दै खेल जिताए । गुलशन ९ र प्रतिश ५ रनमा नटआउट बने ।

ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६-१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए ।

वेष्ट इण्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । यसैगरी एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे । उनले यस क्रममा पाँच चौका र तीन छक्का हाने । यस्तै केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए ।

बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट