‘मनसरा’को मर्मस्पर्शी गीत ‘झ्यालको’ सार्वजनिक-Sutra News

‘मनसरा’को मर्मस्पर्शी गीत ‘झ्यालको’ सार्वजनिक

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ यही वैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । कवि हुँदै फिल्म लेखनपछि पहिलो फिल्म ‘जारी’ निर्देशन गरेर दर्शकको मन जितेका सुब्बाको निर्देशनमा निर्माण भएको यो फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ ।



सोमबार इन्टरनेटमा सार्वजनिक गरिएको ‘झ्यालको’ बोलको गीतमा फिल्मका मुख्य कलाकारहरुका केही दृश्यहरु समावेश गरिएका छन् । जसले फिल्मको कथासार बुझाउँन मदत गर्छन् । झुमा लिम्बुको कम्पोजिसन रहेको गीतमा हर्क साउदको शब्द रचना सनुप पौडेल र झुमा लिम्बुको स्वर सुन्न सकिन्छ ।

यसअघि टिजर, ट्रेलर तथा फरक शैलीको प्रचारले फिल्मको चर्चाको शिखरमा छ । सार्वजनिक गीतले पनि फिल्मको प्रचारमा ठुलो सहयोग पुग्ने बुझाई निर्माण टिमको छ । ‘मनसरा’ले नेपाली फिल्ममा हुने गरेको दृश्य कथाको खडेरीलाई सम्बोधन गर्ने देखाएको छ ।

एउटै ठाउँमा बस्ने विभिन्न जातजातीका छिमेकी, उनीहरूको नोकझोक र प्रेमलाई देखाएको यो फिल्ममा बाहुन बाजे बनेका प्रविण खतिवडाको लिम्बुनी मिरुना मगरसँगको निकटता बाजेकी नेवार्नी पत्नी बनेकी मेनुका प्रधानसँगको अमिलो सम्बन्धको कथा पेस गरेको छ । यस्तै, दयाहाङ राई र मिरुनासँग सम्बन्ध पनि फिल्ममा रहेकाले यो कथा र पात्रको एकअर्काको सम्बन्धको जालो कन्फ्युजिङ रहेकाले दर्शकप्रति कौतुहल्ता पैदा गर्न सफल देखिएको छ ।

कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेको फिल्ममा दयाहाङ, मिरुना, प्रविण, मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको फिल्ममा मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।

एप्पल इन्टरटेन्मेन्ट कम्पनीले यो फिल्मको वितरण जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट